रुकुम पूर्वको भूमे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड आगामी फागुन ८ देखि हुने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन, व्यवस्थापन तथा निर्देशन समितिको आज बसेको बैठकले आगामी फागुन ८ देखि ११ गते सम्म पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड संचालन गर्ने निर्णय गरेको हो । राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले भूमे गाउँपालिका वडा नम्बर ६ महतमा रहेको बृहत रंगशालामा रनिङ शिल्ड संचालन हुन लागेको बताउनुभयो ।
रनिङ शिल्डमा महिला पुरुष भलिबल, पुरुष कबड्डी, महिला पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । यस्तै एथ्लेटिक्स अन्तर्गत ट्रयाक पुरुष तर्फ १ सय मिटर, २ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको दौड हुने शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कौशलकुमार तिवारीले बताउनुभयो । उहाँका अनुसार छात्रा तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ मिटर र ३ मिटर दौड हुने छ ।
यस्तै छात्र छात्रा तर्फ ४×१ सय ४×४ सय मिटर रिले दौड पनि हुने छ । उफ्रने, फ्याँक्ने (फिल्ड) तर्फ छात्र छात्रा हाइजम्प, लङजम्म, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट खेल पनि संचालन हुने बताइएको छ ।