Kakhara सबैको खबर सम्पूर्ण खबर
हिमालय माविमा लागेको ताला खुल्यो

सिस्ने गाउँपालिका २, को हिमालय मावि नायगाडमा विद्यार्थीले लगाएको ताला खुलेको छ । विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, विद्यार्थी र अभिभावक समेत सहभागि भएको छलफलबाट विद्यालयमा भएको तालाबन्दी खोल्ने सहमति भएको थियो । छलफलमा विद्यार्थीले उठाएका माग सम्बोधन गर्ने सहमति भएको छ ।

प्रध्यानाध्यापक मोहनकुमार रोका टिपीडी तालिमको शिलशिलामा बाहिर रहेकाले प्रअ फर्के लगत्तै विद्यार्थीका माग सम्बोधन हुने प्रतिबद्धता आएपछि विद्यार्थीहरु ताला खोल्न तयार भएका हुन् । जनप्रतिनिधिबाट वसन्ती घर्ती, विव्यसबाट जितप्रसाद घर्ती र खडक केसी, विद्यालयबाट पदमबहादुर खड्का तथा विद्यार्थीहरु प्रदिपकुमार कामी,पसलमान घर्ती, विपना विक लगायतले सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रअ फर्किए लगत्तै विद्यार्थीको माग सम्बोधन हुने भएपछि जारी आन्दोला रोकिएको अखिल क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य तिलकराज रसाइलीले बताउनुभयो । विद्यार्थीका माग जायज छन् र मागको सुनुवाई हुने भएपछि विद्यार्थी आन्दोलन फिर्ता गर्न तयार भएको रसाइलीले बताउनुभयो । नियमित पठन पाठन हुनुपर्ने, टिउशन शुल्क घटाउनुपर्ने लगायतका माग राखेर विद्यार्थी आन्दोलनमा थिए ।

 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update