लुम्बिनी प्रदेश सभाका सांसद् दिलकुमारी बुढा मगरले जिल्लाको विकास निर्माणको अवस्थाबारे चासो लिनु भएको छ । समानुपातिकबाट सांसद् भन्नु भएका बुढा मगरले जिल्लाको विकास निर्र्माणको अवस्थाबारे चासो लिइरहनु भएको हो ।
गृह जिल्लामा आउनु भएका सांसद् बुढा मगरले जिल्लाका विभिन्न गाउँठाउँ र जिल्ला स्थित कार्यालयसँग विकास निर्माणको अवस्थाबारे छलफल तथा सल्लाह, सुझाव लिइराख्नु भएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको आयोजनमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरूसँग सांसद् बुढा मगरले छलफल गर्नु भएको छ । मतदातालाई धन्यवाद दिँदै ५ वर्षको योजना र सुझाव लिइ राख्नु भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित सांसद्सँग छलफल कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिले आफ्नो कार्यालयकोे योजना तथा कामको अवस्थाबारे जानकारी गराउनु भएको थियो । विकास निर्माण एवम् कार्यालयबाट सेवा प्रवाह जनमैत्री रूपले काम भइरहेको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । छलफलमा प्रजिअ सुनुवारले समग्र विकास निर्माणले गति लिइरहेको दाबी गर्दै भन्नुभयो –“सदरमुकामको मुद्दा विचाराधीन अवस्थामा रहेकाले सरकारी भवन निर्माण हुन नसक्दा सबै कार्यालय घरभाडाबाट कार्य सम्पादन गर्नु पर्ने बाध्यता छ ।”
जिल्ला भित्र पर्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छिटोछरितो कालोपत्रेको काम सम्पन्न गराउन लागि निर्माण कम्पनीलाई ताकेता गरिराखिएको प्रजिअ सुनुवारले बताउनुभयो । यसैगरी सहिद मार्ग, देउखोला–जामाबगर सडक खण्ड, पेल्मामा निर्माणाधीन नेपाल टेलिकमको टावर, जिल्ला स्थित अलपत्र अवस्थामा रहेको पाहुना घर, जिल्ला अस्पतालमा थप सेवा प्रवाहका लागि आफ््नो तर्फबाट निरन्तर लागि परेको बताउँदै सुनुवारले यसमा माननीयहरूले पनि विशेष ध्यानमा राखी पहल कदमी लिनु पर्ने धारणा राख्नुभयो । नागरिकका दैनिकीसँग जोडिएका विकास निर्माणको अवस्थालाई गति लिन नसकेमा जनप्रतिनिधि र कर्मचारी हुनुको अर्थ नहुने प्रजिअ सुनुवारले बताउनुभयो ।
जिल्लाको विकास निर्माण अवस्था निकै चिन्ता जनक अवस्थामा रहेको सांसद् बुढा मगरले बताउनुभयो । जिल्लाको समग्र विकास निर्माणलाई गतिमा ल्याउनका निम्ति सम्पूर्ण राष्ट्र सेवक कर्मचारी, नागरिक र जनप्रतिनिधि एकअर्काका परिपूरक भएर आआफ्नो तर्फबाट काम गर्नु पर्ने तथा योगदान दिनु पर्ने सांसद् बुढा मगरले बताउनुभयो । नीतिगत समस्यालाई सामाधान गर्नमा आफूले सदैव पहल कदमी लिइराख्ने र मतदाता र जिल्ला स्थित कार्यालयको सल्लाह, सुझावलाई मार्गदर्शनका रूपमा लिइ इमान्दार साथ काम गर्ने सांसद् बुढा मगरले भनाइ राख्नुभयो । कार्यालय प्रमुखसँग छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।