भूमे गाउँपालिका रुकुम पूर्वमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालद्वारा संचालनमा रहेको खानेपानी आयोजनाको अनुगमन गरिएको छ । भूमे गाउँपालिका वडा नम्बर ७ को धर्मशाला टोलमा संचालन भइरहेको खानेपानी योजनाको अनुगमन गरिएको हाे । आज भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, वास फोकल पर्सन बामदेव गौतम, गोर्खा वेल्फेयरका सामाजिक शाखा प्रमुख पिताम्बर थापा, पुष्पराज राई, भूमे गाउँपालिकाका कर्मचारी चन्द्र रसाईली लगायतको टोलीले उक्त आयोजनाको अनुगमन गरेकाे हाे ।
याेजनाकाे ३० प्रतिशत काम सम्पन्न भइसकेको सामाजिक शाखा प्रमुख पिताम्बर थापाले जानकारी दिनुभयो । साथै अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले आयोजना राम्राे भएको र स्थानीयका लागि भएकाेले लगनका साथ लाग्न अनुरोध गर्नुभयो । उक्त खानेपानी आयोजनाबाट भूमे गाउँपालिकाको वडा नम्बर ७ धर्मशालामा ५२ वटा धाराबाट जनसमुदायले पानी प्रयोग गर्न पाउने बताइएकाे छ ।
गोर्खा वेल्फेयर ट्रष्ट नेपालले भूमे गाउँपालिकामा विगत ६ वर्ष देखि खानेपानी, थोपा सिंचाई लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।