Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको त्रिभुवन जनता माविका विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको छ । मुसिकोट १ खलंगाको त्रिवेणी चोकमा भर्खरै संचालनमा आएको आँखा स्वास्थ्य सेवा तथा चश्मा घरले विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको हो । 

जसक्रममा विद्यार्थीहरुमा दृष्टि दोषको समस्या धेरै देखिएको छ । कुल १ सय ५ जना विद्यार्थीको आँखा जाँच गरिएकामा नजिकको दृष्टि दोष भएका ३२ जना विद्यार्थी फेला परेको दृष्टि विशेषज्ञ मन्दिप गौतमले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले धेरै मोबाइल चलाउने र किताब बढी पढ्ने हुँदा आँखाको स्वास्थ्यमा ख्याल नगर्दा दृष्टि दोष बढी हुने गरेको उहाँको भनाई छ । 

328640455_874359093676890_8637495142049437050_n1675425758.jpg

त्यस्तै १५ जनामा आँखा सुख्खा हुने समस्या देखिएको छ भने २० जनाको आँखामा एलर्जीको समस्या देखिएको गौतमले बताउनुभयो । समस्या देखिएका विद्यार्थीलाई आवश्यकता अनुसार चश्मा र औषधी सशुल्क रुपमा उपलब्ध गराइएको उहाँले बताउनुभयो । विद्यार्थीहरुमा आँखा सम्बन्धि विभिन्न समस्या देखिने तर नियमित जाँच नहुने अवस्थालाई मध्यनजर गरेर निःशुल्क आँखा जाँच कार्यक्रम संचालन गरिएको उहाँको भनाई छ । 

आँखा जाँच कार्यक्रममा दृष्टि विशेषज्ञ गौतम सहित नेत्र सहायक पुष्पा पोख्रेल पनि खटिनुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update