रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन भएको छ । क्याम्पसमा विभिन्न तहको अध्ययन पूरा गरी हाल विभिन्न क्षेत्रमा स्थापित पूर्व विद्यार्थीहरुको भर्चुअल भेलाबाट क्याम्पसका संस्थापक विद्यार्थी एवं नेपाल सरकारका सेवा निवृत्त सह–सचिव भरतकुमार शर्माको अध्यक्षतामा ९ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरिएको हो ।
जसको उपाध्यक्षमा पूर्व विद्यार्थी एवं नेकपा माओवादी केन्द्रका रुकुम पश्चिम इन्चार्ज वसन्तकुमार शर्मा ‘कुशल’, सचिवमा मध्यपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृत शेरबहादुर केसी र कोषाध्यक्षमा सामाजिक अभियन्ता एवं अधिवक्ता अमर ओली चयन हुनुभएको छ ।
सदस्यहरुमा मुसिकोट खलंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतम, रुकुम पूर्वको सिस्ने गाउँपालिकाका पूर्व अध्यक्ष कुमारी बराल, निर्मला गिरी, पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी र पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष महेश केसी चयन भएको क्याम्पसका अनुसन्धान व्यवस्थापन सेलका प्रमुख टेकबहादुर ओलीले जानकारी दिनुभयो ।
२०३७ सालमा स्थापना भएको यस क्षेत्रकै पुरानो उच्च शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धिसँगै क्याम्पसको सर्वाङ्गीण विकासमा टेवा पुगोस भन्ने हेतुले स्वदेश तथा विदेशमा छरिएर रहेका विभिन्न पेशा, ब्यवसाय एवं रोजगारमा आबद्ध भूतपूर्व विद्यार्थीहरुलाई एकत्रित गर्न समाज गठनको आवश्यकताबोध भएको क्याम्पस प्रमुख गौतमको भनाइ छ ।
विद्यार्थी समाजले स्वदेश तथा विदेशमा रहेका क्याम्पसका सबै पूर्व विद्यार्थीहरुलाई समाजमा संगठित भई आफूले अध्ययन गरेको शैक्षिक संस्थामा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन आह्वान समेत गरेको पब्लिक क्याम्पस प्राध्यापक संघका पूर्व उपमहासचिव एवं विभागीय प्रमुख हरिविष्णु ओलीले बताउनुभयो ।