नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमले सात वटा कार्यालय सञ्चालनमा ल्याएको छ । विहीबार जिल्ला पार्टीको कार्यालय र ६ वटा स्थानीय तहका पालिका स्तरीय पार्टी कार्यालय एकै साथ सञ्चालनमा आएका हुन् । जिल्ला पार्टी कार्यालय सदरमुकाम खलंगा स्थित सेरीगाउँमा स्थापना गरिएको छ । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा सहिद प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष देविलाल गौतमले झण्डोत्तोलन तथा बोर्ड पढेर जिल्ला पार्टी कार्यालय उद्घाटन गर्नुभएको थियो ।
मुसीकोट नगरपालिकाको कार्यालय सेरीगाउँमै, चौरजहारी नगरपालिकाको कार्यालय २ नम्बर वडा चौरजहारी र आठबीसकोट नगरपालिकाको पार्टी कार्यालय ११ नम्बर वडाको सिमबजारमा स्थापना गरिएको छ । बाँफिकोट गाउँपालिकाको ४ नम्बर वडाको कोटमा, सानीभेरी गाउँपालिकाको ८ नम्बर वडाको सिम्लीमा र त्रिवेणि गाउँपालिकाले पनि पार्टी कार्यालय सञ्चालनमा आएको छ । नेपाल कम्युनिष्ट पार्टीको एकता खारेज गरेर माओवादी केन्द्र व्युँताएपछि माओवादी केन्द्रले पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।
जिल्ला पार्टी कार्यालय र सबै पालिकामा पार्टी कार्यालय सञ्चालनमा आएको जिल्ला अध्यक्ष गोपाल शर्माले जानकारी दिनुभयो । पार्टीका कामकाज सम्पादन सहजताका लागि पार्टी कार्यालय बनाइएको अध्यक्ष शर्माले बताउनुभयो । पार्टी कार्यालय स्थापनासँगै अब पार्टीका सम्पूर्ण गतिविधि अघि बढ्ने अध्यक्ष शर्माले जानकारी गराउनुभयो । यस अघि माओवादी केन्द्र र एमाले एकता भएपछि एमाले र माओवादी केन्द्रले एउटै कार्यालय बनाएका थिए । तत्कालिन नेकपा एमालेको पार्टी कार्यालयमा नेकपाको पार्टी कार्यालय सञ्चालन गरिएको थियो । दुवै पार्टी अस्तित्वमा आएपछि दुवै पार्टी आआफ्ना गतिविधि अघि बढाउन लागेका छन् ।