चौंथो साधारण सभाको अवसरमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा रहेको सिम्रुतु क्याम्पसले विभिन्न क्षेत्रका १ सय २१ जनालाई सम्मान गरेको छ । शुक्रबार भएको चौंथो साधारण सभाको उद्घाटन समारोहमा क्याम्पसले विभिन्न क्षेत्रका १ सय २१ जनालाई सम्मान गरेको हो । क्याम्पसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने व्यक्तिलाई सम्मान गरिएको क्याम्पस संचालक समितिका अध्यक्ष टेकवहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जग्गादाता, चन्दादाता र सल्लाहकार गरेर ८० जनालाई सम्मान पत्रले सम्मान गरिएको छ । त्यस्तै क्याम्पसका ३० जना संस्थापक सदस्यहरुलाई आजीवन सदस्यता प्रमाण–पत्र प्रदान गरिएको छ । दुई/दुई जना शिक्षक, कर्मचारी र पत्रकारलाई पनि प्रशंशा पत्रले सम्मान गरिएको उहाँले वताउनुभयो ।
क्याम्पसलाई महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्याम्पसले मरनोपरान्त ५ जनालाई पनि सम्मान गरेको छ । जसमा त्रिवेणी १ का बालकृष्ण केसी, मुसिकोट ११ का झपिराम पुन, त्रिवेणी २ का नवराज मल्ल, त्रिवेणी ४ का लोकबहादुर खड्का र लामो समय सिम्रुतु क्याम्पसमा अध्यापन गराउनु भएका तुलसीपुर १८ का टेकबहादुर पाण्डेलाई मरनोपरान्त सम्मान गरिएको क्याम्पसले जनाएको छ ।
शुक्रबार सुरु भएको क्याम्पसको चौंथो साधारण सभामा आर्थिक प्रतिवेदन संगै क्याम्पसको भौतिक अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । आज नयाँ संचालक समिति चयन गर्दै साधारण सभा सम्पन्न हुने बताइएको छ ।