रुकुम पूर्वका विभिन्न गाउँ बस्तीमा पुस्तान–पुस्ता देखि चलिआएको परम्परागत पानी घट्टको लोकप्रियता विगतकै जस्ताे छ । जिल्लाको ग्रामीण भेगमा आधुनिक विद्युतीय घट्टको प्रयोग कमै छ । पानीबाट चल्ने घट्ट गाउँमा प्रशस्त भेटिनछन् । अझैँ परम्परागत विकास र क्षमतामा भएको पानी घट्टको लोकप्रियता उस्तै छ ।
भूमे गाउँपालिका–३ झुम्लाबाङका ६४ वर्षीय विष्णु बुढाले २०३४ साल देखि अहिलेसम्म पानी घट्ट बनाएर त्यसैबाट जीविकोपार्जन गर्दै आउनु भएको छ । झुम्लाबाङमा बिजुली सेवा पुगेपनि पानी घट्ट अझैँ लोकप्रिय अवस्थामै रहेको बुढाले बताउनुभयो ।
तर, झुम्लाबाङ नजिकैको क्याङ्सी, सिमा र गाबाङ गाउँमा विद्युतीय घट्ट एवम् मिलले पानी घट्टलाई विस्थापित गरेको बुढाले बताउनुभयो । जब गाउँमा बिजुली आयो तब परम्परागत पानी घट्ट कुनै गाउँमा भने विस्थापित हुँदै आएको बुढाले सुनाउनुभयो ।
बाह्रैमास पानी घट्ट चल्ने यस क्षेत्रमा झुम्लाबाङ गाउँ मात्र रहेको थियो । ‘त्यस बाहेकका क्याङ्सी, गाबाङ गाउँमा वर्खामासमा मात्र पानी घट्ट चल्ने भएकाले हिउँदमा अन्न पिस्न दुई गाउँका करिब चार सय घरधुरी झुम्लाबाङको पानी घट्टमा आउने गरेका थिए” उहाँले भन्नुभयो-तर, अहिले तीनै गाउँमै विद्युतीय घट्ट सञ्चालनमा आए देखि त्यहाँबाट अन्न पिस्नहरू रोकिए ।’
हिमाली जिल्ला भएकाले हरेक गाउँमा प्रशस्त मात्रामा पानीको स्रोत नभएकाले पानी घट्ट सञ्चालन हुने गाउँमा अन्न पिस्नेहरूको भीड नै लाग्ने गरेको थियो । अहिले ठाउँ–ठाउँमा विद्युतीय घट्ट तथा मिलको सेवा विस्तार भएपछि विगतमा अन्न पिस्नका लागि भिड लाग्ने पानी घट्टमा फाटफुट मात्र मान्छे आउने गरेको स्थानीय ८३ वर्षीया तिरमाला बिकले बताउनुभयो ।
यसैगरी भूमे–८ पोखरापाता र भलाबोटमा बिजुलीको पहुँच पुगेको छैन । यहाँका स्थानीयको दैनिकी अझैँ टुकीकै भरमा वितिरहेको जयनारायण पुनले बताउनुहुन्छ । अन्न पिस्नका लागि गाउँमा विद्युतीय घट्ट तथा मिल नभएकाले अझैँ पनि पानी घट्टकाे विकल्प नरहेको पुनले बताउनुभयो । जसको कारणले पनि गाउँमा पानी घट्टको लोकप्रियता घटेको छैन ।