रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा रहेको सहिद वासु स्मृति आधारभूत विद्यालयका शिक्षक अभिभावक र बाल क्लवका पदाधिकारीहरुका लागि तालिम सुरु भएको छ । नेपाल जनजागरण मञ्चले शिक्षक, अभिभावक र बाल क्लवका पदाधिकारीहरुका लागि आजबाट तालिम सुरु गरेकाे हाे ।
विद्यार्थीलाई आगामी शैक्षिक सत्र देखि सिकाई क्रियाकलापमा आधारित र विषयवस्तुमा कसरी सक्रिय बनाउने, विद्यार्थीलाई कसरी पठनपाठनमा आकर्षित गर्ने भन्ने लगायतका विषयमा तालिममा सिकाइने बताइएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकासमा टेवा पुगोस भनेर तालिम आयोजना गरिएको तालिमका प्रशिक्षक पवन अधिकारीले जानकरी दिनुभयो ।
घोकाएर पढाउँदा विद्यार्थीहरुले नबुझ्ने भएकोले उनिहरुलाई रमाइलो वातावरणमा कसरी पठन पाठन गराउने भन्ने विषयमा तालिम केन्द्रित हुने उहाँको भनाई छ । तालिमका लागि युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलष्टरले सहयोग गरेको छ भने भूमे गाउँपालिकाले समन्वय गरेको छ ।
तालिमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भान्देउ रोकाले गरिरहनुभएको छ भने तालिममा २३ जना सहभागि छन् ।