रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले नि:शुल्क ग्रामिण अल्ट्रासाउन्ड र क्षयरोग खोजपड्ताल शिविर संचालन गरेको छ । स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा मंगलबार देखि सुरू भएकाे शिविर माघ २७ गतेसम्म संचालन हुनृलछ । पहिलो दिन माघ २४ गते सिम्रुतु स्वास्थ्य चौकी सिम्रुतुमा शिविर संचालन भएकाे छ ।
दोश्रो दिन बिहिबार खारा स्वास्थ्य चौकी खुम्चेरी, तेश्रो दिन माघ २६ गते मुरु स्वास्थ्य चौकी मुरु र चौंथो दिन माघ २७ गते पेउघा स्वास्थ्य चौकी पेउघामा शिविर संचालन गरिने स्वास्थ्य संयोजक प्रेमबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरको पहिलो दिन सिम्रुतु स्वास्थ्य चौकीबाट ९१ जना महिला र १६ जना पुरुष गरी १०७ जनाले सेवा लिएका छन् ।
३० जना गर्भवती महिलाले अल्ट्रासाउन्ड सेवा, १५ जनाले ए.एन.सी. सेवा , ६ जनाले ए.एफ.वि टेस्ट सेवा र सामान्य उपचार ओपिडी सेवा ७१ जनाले लिएकाे बताइएकाे छ । शिविरमा गाउँपालिका अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. छविलाल नेपाली सहित सिनियर अनमी दिक्षा पुन, ल्याब टेक्निसियन भरतबिक्रम बिसी, असिष्टेन्ट चन्द्रप्रकाश ओली लगायत खटिनुभएकाे छ ।
गर्भवती महिलाको लागि नि:शुल्क भिडिओ एक्सरे तथा प्रयोगशाला सेवा, खकारको नमूना संकलन र परिक्षणकाे सेवा दिइरहेको प्रमुख प्रसासकिय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । गर्भवतीलाई गाउँमै गर्भजाँच सेवा दिने र क्षयरोगीकाे पहिचान गर्ने उदे्श्यले शिविर आयाेजना गरिएकाे उहाँकाे भनाई छ ।