Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादीको चौरजहारी नगरमा नेकपाकै टिम

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमको चौरजहारी नगरपालिका कमिटिमा पूरानै टिम कायम भएको छ । माओवादी केन्द्र र नेकपा एमाले एकता हुँदा बनेको नेकपाकै टिम माओवादी केन्द्रमा रहने भएको हो । पालिका कमिटिमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकतामा हुँदाका इन्चार्ज पुष्प वादी, अध्यक्ष श्रीकृष्ण शर्मा र सचिव बिरबहादुर राना रहने बताइएको छ । वादी र शर्मा माओवादी केन्द्रबाट नेकपामा प्रतिनिधित्व गर्नुहुन्थ्यो भने राना एमालेबाट नेकपाको सचिव हुनुहुन्थ्यो ।

साविक माओवादी केन्द्र र एमाले छुट्टा छुट्टै पार्टी हुँदा पनि पालिकाको मुख्य टिम उही रहेको छ । राना एमालेमा फर्कनुभएन । चौरजहारीमा माओवादीको पार्टी कार्यालय उद्घाटनका क्रममा यो दृश्य देखिएको हो । कार्यक्रममा नेकपाकै मुख्य टिम माओवादी केन्द्रको कार्यक्रममा सहभागि भएको छ । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता विशाल शर्माले सर्वहारा बर्गमा कम्युनिष्ट एकताले देखाएको उत्साह, केपी शर्मा ओलीको कारण समस्या भएको बताउनुभयो ।

पार्टी सुदृढिकरण हुनुको साटो ओलीकै कारण अन्तत पार्टी विभाजनमा पुगेको शर्माको भनाई छ । एकता भइसकेका पार्टी यो स्थितिमा पुग्नु भनेको अदालतको बाध्यकारी निर्णयले गर्दा भएको भन्दै शर्माले अन्यत्र जे सुकै भएपनि चौरजहारीमा भने पार्टी एक ढिक्का रहेको बताउनुभयो । पार्टी अलग भएपछि खुशी भएकाहरु चौरजहारीको एकताले निराश हुने भनाई उहाँको छ ।

त्यस्तै नगर पार्टी सचिव बिरबहादुर रानाले एकताको मन्चमा उभिएर बोल्नु र माओवादी केन्द्र पार्टीको कार्यक्रममा बोल्नुमा खासै फरक नभएको बताउनुभयो । कम्युनिष्टहरुको एकता अहिलेको आवश्यकता भएकोले सम्पूर्ण प्रगतिशिल शक्तिहरु एक हुनुको विकल्प नभएकोमा उहाँको जोड छ । नगरपालिकामा पार्टी एकताको सम्पूर्ण टिम एकै ठाउँमा रहेको भन्दै सचिव रानाले यसले चौरजहारीमा कम्युनिष्टहरु एक छन् भन्ने सन्देश गएको बताउनुभयो

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update