Kakhara सबैको खबर सम्पूर्ण खबर
सरकारले सञ्चार क्षेत्रमा लगानी बढाउनु पर्छः सांसद खड्का 
सांसद खड्का ।

कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काले सरकारले सञ्चार क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट संचालनमा रहेको रेडियो मौराखारा एफ.एम. १०६.५ मेगाहर्जको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद खड्काले सञ्चार क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभएको हो । 

संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले सञ्चार माध्यमको विकासका लागि सोच्नुपर्ने उहाँको भनाई छ । जनताको आवाज बोलिरहेका सञ्चार माध्यमहरु विभिन्न कारणले संकटमा रहेकोले तिनको विकासका लागि सरकारले समेत लगानी बढाउनुपर्नेमा उहाँको जोड थियो । साथै उहाँले जिल्लाका सञ्चार माध्यमको समग्र विकासका लागि आफ्नो तर्फबाट कर्णाली प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । 

सांसद खड्काले जिल्लाको पत्रकारिताको थप विकासका लागि निम्ति लगानीका साथै सरकारको स्पस्ट नीति समेत आवश्यक रहेको बताउनुभयो । यसतर्फ स्थानीय सरकारहरुले समेत ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । सांसद खड्काले भावि पुस्तालाई पत्रकारितामा आकर्षित गर्न समेत जरुरी रहेको बताउनुभयो । 

दुरदराजका नागरिकको सारथि रेडियो भएकोले रेडियो थप विश्वसनिय बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । रेडियोले पिँधमा रहेका जनताको आवाज बोल्न सकेमा रेडियोको विश्वसनियता अझ बढ्दै जाने उहाँको विश्वास छ । सरकारका सकारात्मक अभियानमा पत्रकारिता जगतले हातेमालो गर्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।

तेस्रो वर्ष पुरा भएको अवसरमा रेडियो मौराखाराले आज बिहान शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । साथै रेडियोले तेस्रो वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा खिमबहादुर ओलीलाई नगद सहित सम्मान समेत गरेको छ । कार्यक्रममा रेडियोको अवस्था समेटिएको प्रतिवेदन स्टेशन म्यानेजर नारायण ओलीले प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update