रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ कुसुमडाँडामा रहेको उपकार आधारभुत विद्यालयको ३ कोठे पक्की भवन उद्घाटन गरिएको छ । बुधबार कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले रिवन काटेर उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन सांसद केसीले शैक्षिक सुधारको खाँचो औंल्याउनुभएको छ । उहाँले विद्यालयमा विद्यार्थी संख्या कम भए फरक नपर्ने तर शिक्षाको गुणस्तर महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । बालबालिकाको भविष्य निर्माण गर्न अभिभावक संगै शिक्षकहरुको पनि उत्तिकै भुमिका हुने सांसद केसीको भनाई छ ।
गत आर्थिक वर्ष २०७८/०७९ सालमा निर्माण सम्पन्न भएको विद्यालय भवन विविध कारणले ढिलोगरी उद्घाटन गरिएको प्राधानाध्यापक प्रतिभा ओलीले बताउनुभयो । उहाँका अनुसार भवन निर्माण गर्न महाविर कन्ट्रक्सनले ३० लाख रुपैयाँमा जिम्मा लिएको थियो ।
कर्णाली प्रदेश सरकारको १५ लाख र मुसिकोट नगरपालिकाको १५ लाख गरेर जम्मा ३० लाख बजेटमा विद्यालय भवन निर्माण भएको हो । भवन निर्माणको काम सकिए पनि विद्यालयमा अझै भौतिक संरचनाको अभाव रहेको प्रअ ओलीले बताउनुभयो ।
भवन उद्घाटनका क्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने ६ जनालाई विद्यालयले सम्मान गरेको छ । उक्त विद्यालयमा कक्षा ५ सम्म पठन पाठन भइरहेको छ । भवन उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य बुद्धिप्रसाद शर्मा, मुसिकोट नगरपालिकाका पूर्व प्रमुख देविलाल गौतम, नेकपा माओवादी केन्द्रका मुसीकोट नगर अध्यक्ष दलबहादुर खड्का, ७ नम्बर वडा अध्यक्ष एक्कबहादुर पाण्डे, १० नम्बर वडा अध्यक्ष धनबहादुर खड्का, ११ नम्बर वडा अध्यक्ष गोविन्दबहादुर बुढा लगाएयतको पनि आतिथ्यता रहेको थियो ।