रुकुम पश्चिमबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले मुसिकोट नगरपालिका वडा नम्बर ११ का मतदातालाई वडामै पुगेर आफुलाई निर्वाचित गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ । बुधबार वडाको दहवाङ पुगेर सांसद केसीले वडा नम्बर ११ का मतदातालाई भेट गरेर धन्यवाद ज्ञापन गर्नुभएको हो । त्यसक्रममा वडावासीले वडाका समस्याका बारेमा जानकारी गराएका थिए ।
वडावासीले विकास निर्माण लगायत विद्यालयको भौतिक संरचना निर्माण, खानेपानीको समस्या हल गर्न, वडामा सिँचाई कुलो व्यवस्थापनको लागि बजेट व्यवस्थापन गर्न माग गरेका छन् । दलित वस्तिलाई व्यवस्थित गर्न, स्याउली बजार र चिसापानीमा ट्रस पुल निर्माण गर्न, खानेपानी योजनाको काम सकिएको लामो समयसम्म पनि भुक्तानी नभएकाले यसको पहल गर्न, युवा अनुकुलन तालिम ल्याउन, त्रिवेणी गाउँपालिकाबाट आउने विद्युत महँगो भएकाले वडामा केन्द्रीय प्रसारण लाइनको व्यवस्थापन लगायतको माग पनि वडावासीले राखेका छन् ।
वडावासीले राखेका सवै मागहरु जायज रहेको प्रतिक्रिया दिँदै सांसद केसीले प्राथमिकताका आधारमा सके जतिका सवै मागहरु सम्वोधन गर्न पहल गर्ने बताउनुभयो । स्थानीयले राखेका विकास निर्माणका मागहरु मध्ये धेरैजसो निर्माण प्रक्रियामा रहेको र बाँकी गर्नुपर्ने कामहरु पनि निरन्तर गरिने उहाँले बताउनुभयो । आफ्नो तर्फबाट हुन सक्ने सहयोग, पहल र कर्णाली प्रदेश सरकारसंग समन्वय गरेर वडावासीका माग पुरा गर्न तर्फ आफ्नो ध्यान केन्द्रित गर्ने सांसद केसीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।