नेकपा (माओवादी केन्द्र) मुसिकोट नगरपालिका वडा नम्बर ६ को विस्तारित बैठक बसेको छ । बैठकले वडा भेलाको मिति तय गरेको छ । जसअनुसार माओवादी केन्द्र मुसिकोट ६ को वडा भेला फागुन २० गते हुने भएको छ । भेला सम्पन्न गर्नका लागि अनिल बुढाको संयोजकत्वमा १७ सदस्यीय परिचालन समिति गठन गरिएको छ ।
त्यस्तै बैठकले भेला अघि वडाका सबै टोल भेला तथा बैठक गर्ने निर्णय गरेको छ । टोल भेला तथा बैठक फागुन १० गते देखि १४ गतेसम्म गर्ने गरी समय तोकिएको छ । त्यसका लागि प्रत्येक टोलका इन्चार्ज समेत बैठकले तोकेको छ । भण्डारीकाँडा टोलको भेला फागुन १० गते हुने छ भने टोल इन्चार्ज निर्मला रसाइलीलाई तोकिएको छ ।
वसिवाङ–पोखरा–मेलचौर–गवाँरी–भाल्डाँडा टोलको फागुन ११ गते र इन्चार्ज अनिल बुढा, काम्ले–दाइँघाँडा–भिरजरा टोलको फागुन १२ गते र इन्चार्ज बसन्तकुमार गौतम, दवाङ–कानेवाङ–डाँडिगाउँ टोलको फागुन १३ गते र इन्चार्ज अनिल बुढा तथा झिँजा–घाइडाँडा–ट्वाखोला टोलको भेला फागुन १४ गते गर्ने र इन्चार्जको जिम्मेवारी भानु मल्ललाई दिइएको नेकपा माओवादी केन्द्र मुसिकोट ६ ले जनाएको छ ।
त्यस्तै बैठकले आवधिक योजना पहिचान र छनोट गर्ने समेत निर्णय गरेको छ । बैठकमा नेकपा माओवादी केन्द्रका नेता गोप्यश्वर केसी राकेश, पार्टीका जिल्ला समन्वय समिति सदस्य भानु मल्ल, पार्टीका मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का, सचिव शुसिल गौतम, नगर सदस्य नारायण केसी लगायतको आतिथ्यता रहेको थियो ।