Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे शाइकुमारीद्धारा सदस्यलाई पेन्सन वितरण 

रुकुम पश्चिमको डिग्रे शाइकुकारी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई पेन्सन वितरण गरेको छ । संस्थाको लघु वित्त कार्यक्रममा पेन्सन बचत योजना अन्तर्गत सहभागी सदस्यहरुको १५ वर्षे सेवा अवधि पुरा भएपछि शनिबार एक कार्यक्रम गरी ३० जना सदस्यहरुलाई पेन्सन सुविधा वितरण गरेको हो । 

संस्था अन्तर्गतका मुसिकोट ३ का २ वटा केन्द्रका सदस्यहरुलाई पेन्सन वितरण गरिएको संस्थाका प्रवन्धक यज्ञ विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार शिव शक्ति शाइकुमारी महिला केन्द्र मुसिकोट ३ का १७ जना र कालिका शाइकुमारी महिला केन्द्र मुसिकोट ३ का १३ जना सदस्यहरुलाई पेन्सन वितरण गरिएको हो । 

सदस्यले जति बचत गरेका छन् उक्त बचत सहित त्यति नै बराबर पेन्सन थपेर वितरण गरिएको उहाँले बताउनुभयो । यसरी ३० जना सदस्यलाई २३ लाख ९३ हजार ८० रुपैंया वितरण गरिएको प्रवन्धक विष्टले बताउनुभयो । यसमा ११ लाख ९६ हजार ५ सय ४० रुपैंया सदस्यको बचत हो भने त्यसमा ११ लाख ९६ हजार ५ सय ४० रुपैंया नै संस्थाले थपेर दिएको हो । 

त्यस्तै संस्थाको अर्धवार्षिक समिक्षा समेत भएको छ । कार्यक्रममा संस्थाको पुष मसान्तसम्मको प्रगती प्रतिवेदन, कुल पुँजी, लगानी, आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको थियो । संस्थाको कुल पुँजी २५ करोड ६८ लाख ३७ हजार ९ सय ५४ रुपैयाँ रहेको कार्यक्रममा जानकारी गराइएको छ । 

त्यस्तै संस्थाले चालु वर्षको ६ महिनामा १ करोड ४७ लाख ७ हजार २ सय ७५ रुपैयाँ आम्दानी गरेको छ । जसमा खर्च ९२ लाख ७४ हजार ९ सय ९६ रुपैयाँ रहेको छ भने ५४ लाख ३२ हजार २ सय ७९ रुपैयाँ ११ पैसा मुनापा रहेको प्रवन्धक विष्टले बताउनुभयो । संस्थाले हालसम्म २० करोड ५० लाख १६ हजार ५ सय ५८ लगानी गरेको छ । 

संस्थाका अध्यक्ष वेदराज शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमा उपाध्यक्ष मनिषा रोकायले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण प्रवन्धक विष्टले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update