Kakhara सबैको खबर सम्पूर्ण खबर
चाैतारी भत्काएर सडक (भिडियो सहित) 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको कालिकाथानमा रहेको चौतारी भत्काइएको छ । मोटरसाइकल र पैदलयात्रीलाई आवतजावतमा सहज बनाउने तथा कालिका मन्दिरको संरक्षणका लागि भन्दै मुसिकोट नगरपालिकाले चौतारी भत्काएर बाटो बनाउन लागेको हो । कालिकास्थानमा दुर्घटनाको जोखिम बढेको र पैदल यात्रीलाई समेत आवतजावतमा समस्या भएपछि त्यसको व्यवस्थापनका लागि चौतारीको केही भाग भत्काएर बाटो बनाउन लागिएको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।

हालसम्म मन्दिरको सामुन्नेबाट घुम्नुपर्ने तथा बाटो धेरै घुमाउरो र साँघुरो भएका कारण धेरै मोटरसाइकल दुर्घटनामा परिरहेको र पैदलयात्रीलाई समेत जोखिम भएपछि बाटोलाई सिधा बनाउनका लागि चौतारी भत्काउनु परेको नगर प्रमुख केसीको भनाई छ । चौतारी भत्काएर करिब अढाई मिटर चौडा बाटो बनाउन लागिएको उहाँले बताउनुभयो । यसले चौतारीलाई कुनै असर नगर्ने दाबी उहाँको छ । ‘चौतारीको केही भागलाई बाटोका रुपमा प्रयोग गरिदैं छ, जसले गर्दा चौतारी केही साँघुरो त हुन्छ, उहाँले भन्नुभयो–तर पुरै चौतारी भने मासिने छैन् ।’

यसबाट कालिकाथान मन्दिरको संरक्षणमा समेत टेवा पुग्ने भनाई उहाँको छ । मोटरसाइकल मन्दिरसम्मै पुग्दा मन्दिरमा समेत असर गरिरहेकोले अव मन्दिरलाई चारैतिरबाट घेरबार गरेर सुरिक्षत बनाइने नगर प्रमुख केसीले बताउनुभयो । त्यस्तै सदरमुकामको मुटुमा रहेको चौतारी भत्काउँदा सर्वसाधारणले थकाई मेटाउने तथा केही साना कार्यक्रम गर्ने ठाउँ सकियो नि भन्ने प्रश्नमा उहाँले मन्दिर देखि तलतिरको खाली ठाउँलाई व्यवस्थित गरेर बस्न मिल्ने बनाउने र रेलिङ लगाएर सुरक्षित बनाइने जवाफ दिनुभयो । यसका लागि ३ लाखको खर्च स्टामेट बनेको नगरपालिकाले जनाएको छ । वडा नम्बर १ को कार्यालय तर्फको चौतारीको भाग भत्काएर बाटो बनाउन लागिएको हो ।  

चौतारी भत्काएको भन्दै असन्तुष्टि 
खलंगा बजार भित्रको महत्वपूर्ण सम्पदा चौतारी भत्काएको भन्दै असन्तुष्टि देखिएको छ । खलंगाको महत्वपूर्ण स्थानको रुपमा रहेको चौतारीलाई भत्काउँदा यसले राम्रो सन्देश नदिएको भन्दै केहीले असन्तुष्टि जनाएका छन् । सम्पदा भत्काउँदा राम्रो सन्देश नजाने स्थानीय टीकाराम खड्काले बताउनुभयो । अहिले भएकै बाटोलाई व्यवस्थापन गर्न सकिने अवस्था भएपनि भएको संरचनालाई भत्काउनु राम्रो नभएको उहाँले बताउनुभयो । 

चौतारी भत्काएर बाटो बनाउन खोज्नु ध्वंसकारी विकास भएको उहाँको टिप्पनी छ । त्यस्तै समाजसेवी शिवराम खत्रीले पनि चौतारी भत्काउनु राम्रो नभएको बताउनुभयो । चौतारी, पाटी, पौवाको थप संरक्षण गर्नुपर्नेमा विकासका नाममा भत्काउन नहुने र यसलाई विकास मान्न नसकिने उहाँको भनाई छ । सवारी दुर्घटनाको जोखिम बढेकै भएपनि यसठाउँमा बरु सवारी आवागमनलाई रोकेर पैदल हिड्न मिल्ने मात्र बनाउन सकिने विकल्प हुँदा हुँदै भत्काएर राम्रो बनाउछु भन्नु राम्रो नभएको खत्रीले बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update