पूर्व अर्थमन्त्री जनार्दन शर्माले अहिले सत्ताको म्याराथन लड्ने बेला नभएको बताउनुभएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित सानीभेरी–मौराखारा गुरिल्ला म्याराथन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संख्या वा पदका लागि म्याराथन लड्नु आवश्यक नरहेको बताउनुभयो ।
रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका उहाँले राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभएको छ । ‘संख्याको कुरा नगरौं, वर्तमान प्रधानमन्त्रीले संसदमा रहेको संख्याको ९९ प्रतिशतको विश्वासको मत पाइसक्नुभएको छ, उहाँले भन्नुभयो–अव त्यसलाई व्यवहारमै लागु गरेर राष्ट्रिय सहमति कायम गरी अघि बढ्नुको विकल्प छैन्, संख्या र पदका लागि नलाडौं, हामी रुकुमबाट यही सन्देश दिन्छौं ।’
साथै उहाँले अहिले राष्ट्रपति को बन्न भन्ने कुरा पनि महत्वपूर्ण नभएको बताउनुभएको छ । ‘अहिलेको वहस राष्ट्रपति को हुने भन्ने हुँदै होइन्, प्राप्त उपलब्धिहरुलाई कसरी कायम गर्ने र संविधानमै लिपिबद्ध समाजवाद उन्मुख देश कसरी बनाउने तथा प्राप्त उपलब्धिलाई कसरी संस्थागत गर्ने भन्ने मुख्य कुरा हो ।’
जनयुद्ध दिवसका अवसरमा नेपाल सरकार तथा विभिन्न प्रदेश सरकारहरुले सार्वजनिक विदा दिएकोमा उहाँले धन्यवाद समेत दिनुभयो । ‘जनयुद्ध सेना, प्रहरी, कांग्रेस, एमाले वा अन्य कुनै दल विशेषका विरुद्ध थिएन उहाँले थप्नुभयो–व्यवस्थाका लागि लडिएको हो, यसमाथि सवैले गर्व गर्नुपर्छ नकि हिनतावोध ।’
देशमा विभिन्न कालकण्डमा भएका आन्दोलनको स्मरणमा सार्वजनिक विदा दिने प्रचलन यसअघि देखि नै रहेकामा देशलाई यो अवस्थासम्म ल्याई पुर्याउने जनयुद्ध दिवसलाई स्मरण गर्न सार्वजनिक विदा दिनु पनि उपलब्धि भएको उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले कर्णाली प्रदेशले ल्याएको १ वर्षमा १० हजार वेरोजगारलाई रोजगारी दिने कार्यक्रमलाई तत्काल कार्यान्वनमा ल्याउन आग्रह गर्नुभएको छ । श्रम सरकारीको कामलाई थप विस्तार गर्न र यस्ता सहकारीहरुलाई कामको जिम्मेवारी दिने गरी सोँच्न पनि उहाँले प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।