रुकुम पश्चिममा धुमधामका साथ २८ औं जनयुद्ध दिवस सोमबार मनाइएको छ । जिल्लाभरमा जनयुद्धको स्मरण गर्दै विभिन्न कार्यक्रमहरु भएका हुन् । यो अवसरमा सहिदका सालिक र फोटोमा अविर आवरण तथा माल्यार्पण गरेर श्रदाञ्जली अर्पण गरिएको छ । विभिन्न ठाउँमा सहिद परिवार सम्मान कार्यक्रम संचालन गरिएको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले जनयुद्ध दिवसका अवसरमा पालिका स्तरीय सहिद परिवार भेटघाट, सम्मान, अन्तरक्रिया, चियापन लगायतका कार्यक्रमहरु भएको बताउनुभयो । जिल्लाको सानीभेरी गाउँपालिकाले भने दिवसको अवसरमा राष्ट्रिय स्तरको गुरिल्ला म्याराथन आयोजना गरेको थियो ।
म्याराथन संगै दिवस विशेष भव्य कार्यक्रमको समेत आयोजना गरिएको सानीभेरी गाउँपालिकाले जनाएको छ । माओवादी विचार धारा बोक्ने पार्टीहरुले हरेक वर्षको फागुन १ गतेलाई जनयुद्ध दिवसका अवसरमा धुमधामका साथ मनाउने गर्दछन् ।
यसपटक देखि सरकारले दिवसका अवसरमा सार्वजनिक विदा समेत दिएको छ । २०५२ फागुन १ मा तत्कालिन नेकपा माओवादीले तत्कालिन राज्य व्यवस्थाका विरुद्ध बन्दुक उठाउँदै जनयुद्धको घोषणा गरेको थियो ।