रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, को खदीमा विजुली बलेको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान गरिएपछि शुक्रबार खदिका ४७ घरमा विजुली बलेको वडाध्यक्ष केशरमान विकले जानकारी दिनुभयो । खदीका २ सय ५७ घरमध्य ४७ घरमा विजुली बलेको र अरु घरमा पनि विजुली बाल्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
खदीक सबैतिर पोल गाड्ने र तार तान्ने काम सकिएको र उपभोक्ताले मिटर जडान सकिन बाँकी रहेकाले अरु घरमा केही समयमा विजुली बल्ने वडाध्यक्ष विकले बताउनुभयो । पुष २५ गते खदीको पोल र ट्रान्सफर्मरमा विजुली बलेको थियो । त्यसपछि मिटर जडान गर्ने काम सकिएका घरमा विजुली बलेको हो ।
भौगोलिक कठिनाई असजिलोका बाबजुद वडामा विुजली बलेको र अब बाँकी टोल र घरमा पनि विजुली बाल्ने कामा निरन्तर लागिएको वडाध्यक्ष विकले बताउनुभयो । ३ नम्बर वडा नगरपालिकाको विजुली बाल्ने पहिलो वडा भएको छ । नगरका अरु वडामा पोल, तार पुगेपनि विजुली भने बालिएको छैन ।
नेपाल विद्युत प्राधिकरणको लाइन योजना अन्तर्गत जिल्लाका सबै ठाउँमा विद्युत विस्तारको काम भइरहेको छ । हाइड्रो इनर्जी महाशक्ति जेभीले लाइन विस्तारको काम गरिरहेको छ । उक्त निर्माण कम्पनीले जिल्लाका सबै स्थानीय तहमा लाइन विस्तारको काम गरिरहेको हो । भ्याट सहित १९ करोड ३७ लाखमा उक्त काम भइरहेको जनाइएको छ । कम्पनीका प्रतिनिधि हरि चन्दका अनुसार काम भइरहेकामध्य अधिकांश क्षेत्रमा विजुली बलेको छ । आगामी वैशाख सम्म सबैतिर विजुली बाल्नेगरी काम भइरहेको चन्दले बताउनुभयो ।