Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ६ मा अल्लो प्रशोधन तालिम सुरु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ देउता खोलामा १ महिने अल्लो प्रशोधन तालिम सुरु भएको छ । देउता खोलाको फिल्डमा आज देखि १ महिने अल्लो प्रशोधन तालिम सुरु भएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजना र सानीभेरी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको वडा अध्यक्ष पहलसिंह घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजबाट सुरु भएको तालिम आगामी चैत २ गतेसम्म चल्ने छ । तालिममा वडाका सीप सिक्न चाहने र विपन्न परिवारका २० जना महिला सहभागी छन् । तालिममा सहभागी महिलालाई अल्लो पकाउने, धागो बुन्ने लगाएतका सीप सिकाइने बताइएको छ । जिल्ला भित्रै उत्पादन हुने अल्लो संकलन गरी वडामा अल्लो प्रशोधन गर्न लागिएको छ । तालिममा सहभागी हुने महिलाले आँफै पनि अल्लो संकलन गरेकाले अन्य ठाउँबाट खरिद गर्नुपर्ने अवस्था नरहेको वडाले जनाएको छ ।

अल्लो प्रशोधन तालिम सकिए लगतै तालिम सिकेका महिलालाई रोजगारीमा जोड्ने गरी सोचिएको वडाध्यक्ष घर्तीले बताउनुभयो । तालिम पश्चात महिलाहरुले अल्लोबाट कपडा निर्माण गरेर आय आर्जनमा सुधार ल्याउने अपेक्षा गरिएको उहाँको भनाई छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update