Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा रुकुम पश्चिमले लघुवित्त विरुद्ध आन्दोलन चर्काउने 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रुकुम पश्चिमले लघुवित्त विरुद्ध आन्दोलन चर्काउने भएको छ । छैटौं जिल्ला समितिको प्रथम पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न आज मुसिकोट खलंगामा आयोजित पत्रकार सम्मेलनमा पार्टीले लघुवित्त विरुद्ध संघर्ष चर्काउने निर्णय भएको जानकारी गराएको हो । 

जसअनुसार भोली जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पीडित सहित लघुवित्त विरुद्ध प्रर्दशन हुने नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । लघुवित्तले सोझासाझा जनतामा लुट मच्चाएकोले यसका विरुद्धमा पार्टी लागेको उहाँको भनाई छ । 

पार्टीको केन्द्रीय समितिले देशभरमा लघुवित्त, बैंकको चर्को व्याजदर र मिटरव्याज तथा चक्रिय व्याजदरका विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरेको जानकारी गराउँदै उहाँले जिल्लामा पनि कडा संघर्ष हुने बताउनुभयो । यसका विरुद्ध भोली फागुन ५ गते खलंगामा विरोध प्रदर्शन हुने पार्टीले जनाएको छ । पार्टीका अनुसार फागुन १५ गते मुल्य बृद्धिका विरुद्ध प्रदर्शन हुने छ ।

फागुन २५ गतेसम्म राज्य र लघुवित्त तथा बैंकका तर्फबाट यस बारेमा कुनै आधिकारिक जवाफ नआए संस्थामा ताला लगाउनेसम्मको संघर्षमा उत्रिने चेतावनी उहाँले दिनुभयो । 

पार्टीको जिल्ला समितिको बैठकले शिक्षामा बढेको निजीकरण विरुद्ध लाग्ने, निःशुल्क र भरपर्दो स्वास्थ्य सेवाका लागि जनघनत्व हेरेर जिल्लामै अत्याधुनिक अस्पताल खोल्न र त्यही अनुसार जनशक्तिको व्यवस्थापन गर्न, सर्वसुलभ यातायात सेवाका लागि गाउँपालिका र नगरपालिकालाई आफ्नो यातायातको व्यवस्था गर्न र वैज्ञानिक भाडादर कायम गर्न आग्रह गर्ने निर्णय गरेको छ । 

त्यस्तै पार्टीले कृषक समस्यालाई हल गर्न, विद्युत महशुल समायोजन गर्न तथा विद्युतमा भएको भ्रष्टाचारका विरुद्ध संघर्ष गर्ने, सहज र सुलभ खानेपानी, लामो समयदेखि बन्द अवस्थामा रहेका कार्यालयबाट तत्काल सेवा प्रवाह गराउन दवाव सृजना गर्ने समेत नेकपा रुकुम पश्चिमले निर्णय गरेको छ । त्यस्तै जिल्लालाई डि वान, डि टू र डि थ्री गरी तीन भागमा विभाजन गरिएको नेकपाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । 

बैठकका निर्णयहरु पार्टी डि टू का सक्रेटरी छविलाल घर्तीले सार्वजनिक गर्नुभएको थियो । डि थ्री का सेक्रेटरी छलाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी भाष्कर मल्लले गर्नुभएको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update