रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको चौंथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । देउराली मावि हुकाममा शिल्ड सुरु भएको हो । शिल्डमा गाउँपालिकाका ८ वटै माविको सहभागिता रहेको छ । शिल्डको लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सारिका पुन, दिलुकुमारी बुढा, गाउँपालिका अध्यक्ष पुनिराज घर्ती र उपाध्यक्ष भुपेन्द्रा बुढाको विशेष आतिथ्यता रहेको थियो । देउराली माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रधानाध्यापक दयाराज पुनले गर्नुभएको थियो ।
गाउँपालिका सामाजिक विकास समिति संयोजक टीकासाई घर्तीले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध प्रतिभा तथा साँस्कृतिक प्रस्तुति राखेका थिए । उद्घाटन कार्यक्रममा पुथाउत्तरगंगा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले तयार पारेको पिटी प्राथना गितमा पुथा हिमालय माविका विद्यार्थीले पिटी प्रदर्शन गरेका थिए ।
शिल्ड फागुन ८ गतेसम्म संचालन हुने गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा २०७८ सालको लुम्बिनी प्रदेश स्तरीय शिल्ड अन्तर्गत एथ्लेटिक्स तर्फको ३ हजार मिटर छात्रा दौड्मा स्वर्ण पदक र केन्द्रिय स्तरको ३ हजार मिटर दौडमा रजत पदक बिजेता पर्वत मावि कोलकी छात्रा दिलकुमारी छन्त्याललाई सम्मान समेत गरिएको थियो ।