युनाइटेड मिशन टु नेपाल रुकुम पूर्व क्लष्टर (युएमएन)ले जिल्ला स्थित आफ््नो साझेदारी संस्थासँग कामको अवस्थाबारे समीक्षा गरेको छ । शुक्रबार भूमे गाउँपालिका–१ लुकुममा युएमएन रुकुम पूर्वको आयोजनामा यस आर्थिक वर्षमा सञ्चालित परियोजना कामको अवस्थाबारे समीक्षा कार्यक्रम गरिएको हो ।
युएमएनको आर्थिक सहयोगमा जिल्ला स्थित नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुम र नेपाल जनजागरण मञ्च (एन–प्याफ) रुकुम मार्फत विभिन्न परियोजना सञ्चालित रहेको छ । समुदायमा सचेतना, विपन्न घरपरिवारको जीविकोपार्जनमा सहयोग, बाल विवाह न्यूनिकरण, अपाङ्गता पुनस्र्थापना, मानसिक रोगको पहिचान र रोकथामका उपाय, शैक्षिक सुधार कार्यक्रम लगायत क्षेत्रमा विभिन्न परियोजना मार्फत काम भइरहेको युएमएनका जिल्ला टिम लिडर शिवप्रसाद अधिकारीले बताउनुभयो । जसमा हाल सम्म भइरहेको कामको प्रभाव, अवसर र काम गर्दा देखिएका चुनौतीलाई समाधानका उपायको अवस्थाबारे समीक्षा गरिएको अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी गएको आर्थिक वर्ष सन २०२२ मा जनजागरण मञ्च र मिक नेपालमा उत्कृृष्ट काम गर्ने दुई कर्मचारीलाई सम्मान गरिएको छ । जनजागरण मञ्चको तर्फबाट अपाङ्गता पुनस्र्थापना परियोजनाका फिल्ड सुरभाइजर निदान बुढा मगर र मिक नेपालको तर्फबाट सक्षम परियोजनाका लेखापाल यर्मिया बोहरालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । समीक्षा कार्यक्रममा युएमएनका टिम लिडर शिवप्रसाद अधिकारी, मिक नेपालका अध्यक्ष धनबहादुर घर्ती मगर, जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारी लगायत विभिन्न परियोजनामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो ।