रुकुम पूर्वको भूमे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । शिल्ड भूमे गाउँपालिका वडा नम्बर ६ महतमा रहेको बृहत्त रंगशालामा सुरु भएको हो । शिल्ड लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्नुभयो । आजबाट सुरु भएको शिल्ड फागुन ११ गतेसम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।
शिल्ड अन्तर्गत छात्र, छात्रा भलिबल, कबड्डी, फुटवल प्रतियोगिता हुने छ । त्यस्तै एथ्लेटिक्स अन्तर्गत ट्रयाक तर्फ छात्र १ सय मिटर, २ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको दौड हुने शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कौशलकुमार तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार छात्रा तर्फ १ मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ मिटर दौड प्रतियोगिता हुने छ । छात्र छात्रा रिले दौड समेत हुने उहाँले बताउनुभयो । उफ्रने, फ्याँक्ने (फिल्ड) तर्फ छात्र छात्रा हाइजम्प, लङजम्म, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट खेल संचालन गरिने छ ।
भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन, जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उप–प्रमुख मोहन केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, गाउँपालिका उपाध्यक्ष सविना बुढाको आतिथ्यता रहेको थियो ।
त्यस्तै जिल्ला समन्वय अधिकारी रबिन्द्र बुढा क्षेत्री, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, ९ वटै वडाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायतको पनि उपस्थिति रहेको थियो ।
देवबहादुर बुढा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन चन्द्र रसाइलीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय कला संस्कृति झल्किने झाँकी, नृत्य तथा नाटक लगायतका प्रस्तुतिहरु राखिएको थियो ।