रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा छैटौं मेयर कप तथा राष्ट्रपति रानिङ शिल्ड आजबाट सुरु हुँदै छ । मेयर कप तथा शिल्ड वडा नम्बर २ को शितल माविमा सुरु हुन लागेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
कर्णाली पदेश सभा सदस्य मिलन खड्काले प्रतियोगिताको उद्घाटन गर्ने ढकालले बताउनुभयो । प्रतियोगितामा नगरका सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाउने नगरपालिकाले जनाएको छ । तर कति विद्यालयको सहभागिता रहने भन्ने भने निश्चित भइनसकेको नगरपालिकाको भनाई छ ।
नगरपालिकामा ९ सामुदायिक र ३ संस्थागत गरी १२ वटा मावि रहेका छन् भने सबै विद्यालयको संख्या ४० रहेको छ । १८ वर्षभन्दा मुनिका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।
माध्यमिक विद्यालयले अनिवार्य सहभागिता जनाउने र अन्य विद्यालयले समेत सबै खेलमा नभएपनि केही खेलमा सहभागिता जनाउने सक्ने भएकोले अहिले नै कति विद्यालयको सहभागिता रहने भन्ने विषय निश्चित नभइसकेको उहाँको भनाई छ । गत संस्करणको शिल्ड शितल मावि चौरजहारीले जितेको थियो ।