नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले जिल्ला समितिको आठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । आज मुसीकोट खलंगामा पत्रकार सम्मेलन गरेर बुधबारको बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको हो । पार्टी जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले वैठकका निर्णय सार्वजनिक गर्नुभयो ।
बैठकले संगठन सुदृढिकरण विशेष अभियान संचालन गर्ने निर्णय गरेको छ । केन्द्र र प्रदेशको योजना र निर्देशनमा सञ्चालन हुने संगठन सुदृढिकरण विशेष अभियान जिल्लामा पनि भव्यतापूर्वक संचालन गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । फागुन २५ गते भित्र नगर र गाउँ समितिका बैठकहरु बस्ने र चैत मसान्तसम्म सदस्यता नविकरण र वितरण गरिसक्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै जिल्ला समितिका सदस्यहरुको नामवली अद्यावधि गरी ८४ जना कायम गरिएको अध्यक्ष शर्माले बताउनुभयो । त्यस्तै फागुन १९, २० र २१ गते तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सानीभेरी गाउँपालिकामा गर्ने निर्णय भएको छ । पार्टीले फागुन २१ गते २४ औँ यदु स्मृति दिवस सानीभेरी गाउँपालिका वडा नम्बर ४ को मेघामा मनाउने समेत निर्णय गरेको छ ।