Kakhara सबैको खबर सम्पूर्ण खबर
छिनखेत–घारीखोला सडक कालोपत्रे हुँदै 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको छिनखेत देखि आठबीसकोट नगरपालिकाको वडा नम्बर १० को घारीखोलासम्मको सडक कालोपत्रे हुने भएको छ । चिसापानी–राडी–नदुवा–मुसिकोट सडक अन्तर्गत छिनखेत–नदुवा–घारीखोला सडक खण्ड कालोपत्रे हुने भएको हो । उक्त योजनाको आज शिलान्यास गरिएको छ । 

बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठामगर र उपाध्यक्ष तारा बुढा केसीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को छिनखेतमा एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो । यो संगै काम पनि सुरु भएको छ । छिनखेतबाट काम सुरु भएको निर्माणको जिम्मा लिएको ठकेदार कम्पनी यती विल्डर्सका संचालक भिमराज केसीले बताउनुभयो ।  

कर्णाली प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय चौरजहारी रुकुम पश्चिम मार्फत सडक कालोपत्रे हुन लागेको हो । यसका लागि ६६ करोड बजेट खर्च हुन लागेको पूर्वाधार विकास कार्यालय चौरजहारीले जनाएको छ । १ अर्वको ठेक्का खुलेकोमा यती विल्डर्सले भ्याट सहित ६६ करोड ९७ लाख २८ हजार १ सय ९५ रुपैंयामा ठेक्का पारेको हो । 

328303377_1223314611951843_933264389642207661_n1677227618.jpg
सडक शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष जनककुमार बाँठामगर र उपाध्यक्ष तारा बुढा केसी ।

१८ किलोमिटर सडक कालोपत्रे हुन लागेको यती विल्डर्सका संचालक केसीले बताउनुभयो । सडक कालोपत्रेको काम २ वर्षमा सक्ने समयसीमा रहेको छ । सन् २०२३ फेब्रुअरी २३ अर्थात २०७९ फागुन ११ गते सम्झौता भएकोमा सन् २०२५ फेब्रअरी २७ अर्थात २०८१ फागुन १५ गते काम सक्नुपर्ने केसीको भनाई रहेको छ । 

निर्धारित समय भित्रै काम सम्पन्न गर्ने उहाँले बताउनुभयो । यसका साथै गुणस्तरीयतामा समेत गम्भिर रुपमा ध्यान दिने उहाँको भनाई छ । त्यस्तै गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरले तोकिएकै समयमा गुणस्तरीय काम गर्न आग्रह गर्दै अप्ठेरो परेको अवस्थामा गाउँपालिकाले सहजिकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । 

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष बाँठामगर, उपाध्यक्ष तारा बुढा केसी, पूर्वाधार विकास कार्यालयका प्रमुख रुपबहादुर रावल, कार्यालयका प्राविधिक तथा कर्मचारी, ठकेदार कम्पनी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । 
333261964_936032830732302_5920271525030778169_n1677227619.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update