रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । वडाले फागुन १४ गते निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको वडाध्यक्ष धनबहादुर खड्का बसन्तले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल सल्ले र आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा आँखा, कान, दाँत तथा अन्य स्वास्थ्य सेवा वडामै दिने गरी शिविर आयोजना गरिएको उहाँले बताउनुभयो । शिविरमा स्वास्थ्य समस्याको पहिचान तथा उपचार सेवा प्रदान हुने अध्यक्ष खड्काले बताउनुभयो ।
उहाँका अनुसार विभिन्न स्वास्थ्य समस्या भएपनि स्वास्थ्य संस्था टाढा भएकोले उपचार गर्न नसकेका वडावासीको सेवाका लागि विशेषज्ञ डाक्टर सहित वडामै सेवा दिन लागिएको हो । शिविरमा आँखा, कान, दाँत तथा अन्य सम्पूर्ण स्वास्थ्य जाँच र सम्भव भएको उपचार हुने छ ।
शिविरमा सम्भव नहुने उपचारका लागि जिल्ला अस्पताल तथा अन्य अस्पतालमा पठाइने र स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिने अध्यक्ष खड्काको भनाई छ ।
शिविरमा जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर केहल विक्रम जिसी, दाँत सम्बन्धी सेवा डाक्टर मिलन कोईलाला, अन्य स्वास्थ्य सेवा जिल्ला अस्पतालमा कार्यरत डाक्टर भिमकान्त जैसी र आँखा कान सम्बन्धी सेवा आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले दिने बताइएको छ ।