रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका स्थानीयलाई होमस्टे सञ्चालन सम्बन्धि तालिम दिइएको छ । पुथाउत्तरगंगा–१० तकसेरामा तीन दिने होमस्टे (घरबास) सञ्चालन सम्बन्धि तालिम दिइएको हो । युनाइटेड मिसन टू नेपाल रुकुमपूर्व क्लष्टर (युएमएन) र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमको साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास (सीड) परियोजना अन्तर्गत लक्षित समुदायमा आर्थिक पर्यटन प्रवद्र्धन स्थानीय स्तरमा होमस्टे स्थापना तथा सञ्चालन सम्बन्धि तालिम प्रदान गरिएको सीड परियोजनाका कार्यक्रम संयोजक उत्तम विकले बताउनुभयो ।
यस अघि होमस्टे सञ्चालन गरिरहेका व्यवसायहरूको क्षमता बृद्धि गरी जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले तीन दिने होमस्टे सञ्चालन सम्बन्धि तालिम दिइएको विकले जानकारी दिनुभयो । फागुन ८ देखि सुरू भएको होमस्टे सञ्चालन सम्बन्धि तीन दिने तालिम फागुन १० गते समापन गरिएको हो । तालिममा पुथाउत्तरगंगा वडा नम्बर १, २, ३, ४, ५, ६, १०, ११, र १३ का गरी २२ जनालाई तालिम दिइएको विकले बताउनुभयो ।
तालिममा पश्चात् होमस्टे सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिका स्तरीय समन्वय समिति गठन समेत गरिएको छ । मनज्योती घर्ती मगरको संयोजकत्वमा ११ सदस्य होमस्टे समन्वय समिति गठन गरिएको हो । तालिमको समापन कार्यक्रममा मिक नेपालका सचिव ऐन्श्वर पुनको अध्यक्षतामा र प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरको रहेको थियो । यस्तै परियोजना संयोजक उत्तम विकको पनि आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन फिल्ड सुपरभाइजर श्रीकुमार बिएमले गर्नुभएको थियो । होमस्टे सञ्चालन तालिम नगरकोट होमस्टेका अध्यक्ष सुरज बास्तोला र होमस्टे महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले दिनु भएको थियो ।