Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम महोत्सवमा को को कलाकार आउँदै छन् ? 

रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारीलाई आयोजकले तिव्र पारेको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्चको संयुक्त आयोजनामा फागुन २६ देखि चैत्र ७ गतेसम्म जिल्ला सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा महोत्सव हुँदै छ । उक्त महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राख्ने बताइएको छ । आयोजकले महोत्सवमा आउने कलाकारहरुको नाम सार्वजनिक गरेको छ ।

आयोजक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलबहादुर देवकोटाका अनुसार महोत्सवमा कलाकारहरु आर्यन सिग्देल, ज्योती मगर, बद्री पंगेनी, पशुपती शर्मा, रामजी खाँड, पुष्कल शर्मा, प्रकाश सपुत, शान्ती श्री परियार, टीका सानु, कमला घिमिरे, एलिना चौहान, किरणबाबु पुन, रोशन सिंह, अञ्जली अधिकारी, टंक तिमिल्सिना र बालाराम विकले प्रस्तुति राख्नुहुने छ । त्यस्तै सुमन कार्की, जय देवकोटा, सुकदेव अधिकार, तिलक परियार, खबपु चञ्चल मगर लगायतका अन्य कलाकारहरुको प्रस्तुति रहने देवकोटाले बताउनुभयो ।

यसमा केही थपघट भने हुनसक्ने उहाँले बताउनुभयो । दर्शकको मागका आधारमा अहिले चलेका कलाकारहरुलाई महोत्सवमा ल्याउने गरी तयारी भइरहेको उहाँको भनाई छ । महोत्सवको दिन नजिकिएसंगै तयारीलाई तिब्रता पारिएको अर्को आयोजक कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताउनुभयो । कलाकारसंग सम्झौता गर्ने, सहयोग खोज्ने, स्टल लगायतका भौतिक संरचना निर्माणका कामहरुलाई तिव्रता दिइएको उहाँको भनाई छ । केही दिनमा कार्यक्रम स्थलमा आवश्यक संरचना निर्माणको काम सुरु हुने परियारले बताउनुभयो । 


 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update