स्थानीय तह बनेको ६ वर्ष पुग्न लाग्दा पनि रुकुम पश्चिमका अधिकांश वडा कार्यालयले भाडाको भवनबाट सेवा दिइरहेका छन । ३ गाउँपालिका र ३ नगरपालिका मिलेर बनेको रुकुम पश्चिममा स्थानीय तह बनेको लामो समयसम्म पनि वडा सरकार भाडाकै भवनबाट संचालनमा छन् । जिल्लामा कुल ७३ वटा रहेका छन् । जसमध्ये अहिलेसम्म १९ वटा वडाको मात्रै आफ्नै भवन रहेको छ । बाँकी ५४ वटा वडा कार्यालय भाडाको घर, सामुदायिक भवन तथा अन्य जीर्ण भवनबाट संचालनमा छन् ।
जिल्ला सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकाका १४ वटा वडा मध्ये ४ वटा वडाको मात्रै आफ्नो भवन रहेको छ । ८ वटा वडा कार्यालय भवन निर्माणको काम सकिएकाले अव छिटै अन्य वडाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गर्ने नगरपालिकाले जनाएको छ । यति गर्दा पनि बाँकी २ वटा वडा कार्यालय भाडाकै घरबाट सञ्चालन हुुने छन् ।
अहिले चौरजहारी नगरपालिकाका ३, बाँफिकोट गाउँपालिकाका ४, त्रिवेणी गाउँपालिकाका ३, आठबीसकोट नगरपालिकाका ३, सानीभेरी गाउँपालिकाका २ वडाले मात्र आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । बाँकी ५४ वटा वडा कार्यालय भने भाडाको घरबाट संचालन भइरहेका छन् । भाडामा संचालन हुनेमा त्रिवेणी गाउँपालिकाका ७, बाँफिकोट गाउँपालिकाका ६, सानीभेरी गाउँपालिकाका ९, आठबीसकोट नगरपालिकाका ११, चौरजहारी नगरपालिकाका १० र मुसीकोट नगरपालिकाका १० वटा वडा कार्यालय रहेका छन् ।
चौरजहारी नगरपालिकाले ७ वटा वडा कार्यालय निर्माणको काम सकिएको भन्दै अव नयाँ भवनमा सर्ने तयारी भइरहेको जनाएको छ । बाँकी ४ वटा वडा कार्यालय भवन आउँदो आर्थिक वर्षमा निर्माण गरिने नगर प्रमुख पुष्प बादीले बताउनुभयो । त्यस्तै त्रिवेणी गाउँपालिकाका ४, सानीभेरी गाउँपालिकाका ४, आठबीसकोट नगरपालिकाका २ वटा वडा कार्यालय भवन निर्माणको काम जारी रहेको बताइएको छ ।
वडाको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुन्दर ओलीले बताउनुभयो । भाडाको घरमा आवश्यकता अनुसार कोठा नहुँदा वडाकै व्यवस्थापन तथा सेवा प्रवाहमा समस्या भइरहेको उहाँको भनाई छ । सानीभेरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पहलसिंह घर्तीले पनि भाडाको घरबाट सोचेजस्तो सेवा दिन नसकिएको बताउनुभयो । वडाको भवन निर्माणाधिन अवस्थामा रहेको र निर्माण सकियो भने सेवा प्रवाहमा सहजता आउने विश्वास उहाँको छ ।