Kakhara सबैको खबर सम्पूर्ण खबर
पहिलो अर्धवार्षिक सिडिओको कार्य सम्पादन प्रतिवेदन : रुकुम पूर्व दोस्रो 
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका सिडिओ तुलाराज सुनुवार ।

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व दोस्रो भएको छ । अघिल्लो वर्षहरूमा निकै कमजोर नतिजा आउने गरेकोमा आर्थिक वर्ष २०७९/०८० को पहिलो अर्धवार्षिक कार्य सम्पादनमा जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व दोस्रो भएको हो । ४०.१३ प्रतिशत अङ्क सहित रुकुमपूर्व देशैभरीकै जिल्ला प्रशासनको दोस्रो भएको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूसँग गरेको कार्य सम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्ने गरेको छ । 

मूल्यांकन समितिका संयोजक एवम् मन्त्रालयको मूल्यांकन महाशाखाका प्रमुख भीष्मकुमार भुसालद्वारा हस्ताक्षरित अर्धवार्षिक कार्य सम्पादनमा रुकुमपूर्व दोस्रो भएको पत्र जिल्ला प्रशासन कार्यालयलाई पठाइएको छ । समितिका अनुसार शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूमा मुल्यांकन गरी प्रतिवेदन तयार गरिएको छ ।


गएको असार देखि हाल रुकुमपूर्वमा तुलाराज सुनुवार प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । आगामी ६ महिनामा पनि प्रथम स्थान हुने गरी कार्य सम्पादन भइरहेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा खम्बु रावतले जानकारी दिनुभयो । बेरुजुको सुचक बाहेक अन्यमा राम्रो गर्न सकिने गरी कार्य सम्पादन भइरहेको रावतले बताउनुभयो । विगतका आर्थिक वर्षमा स्थानीय भत्ता र दुर्गम भत्ताको बेरुजु रकम नियमित नभएको कारण सो सुचकमा अंक प्राप्त गर्न नसकिने होकी भन्ने अनुमान गरिएको रावतको भनाइ रहेको छ । उक्त बेरुजु रकम फछ्र्यौटको लागि गृह मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा फायल पेश भइसकेको समेत जानकारी दिनुभयो । 


पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वमा प्रमुख जिल्ला अधिकारी सुनुवारले जिम्मेवारी समाले देखि कार्य सम्पादनको स्तर, कार्यालयको स्वरूप र सौन्दर्यतामा समेत परिवर्तन भएको स्थानीयको भनाइ रहेको छ । प्रशासनको दैनिकीय सेवा प्रवाहमा विगतको भन्दा हाल सेवा लिनमा सहज भइरहेको भूमे गाउँपालिका–२ का धनबहादुर बुढा मगरले बताउनुभयो । प्रशासनले कुशल नेतृत्व पाएपछि सर्वसाधारणले सेवा पाउनेमा सारै सहजको अनुभूति हुने गरेको बुढामगरले सुनाउनुभयो  । 

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व कार्य सम्पादनमा दोस्रो भएको गृह मन्त्रालयले पठाएको पत्र । 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update