Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारीले टुंग्यायो तीन क्याम्पसमा स्ववियू सभापतिका उम्मेदवार

अखिल क्रान्तिकारी रुकुम पश्चिमले आगामी स्ववियू निर्वाचनका लागि जिल्लाका ३ वटा क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) सभापति उम्मेदवारको टुंगो लगाएको छ । मुसिकोटमा बसेको संगठनको छैटौं बैठक तथा स्ववियू प्रशिक्षण कार्यक्रमबाट संगठनले जिल्लाका ३ वटा क्याम्पसका स्ववियू सभापतिका उम्मेदवार टुंगो लगाएको हो । 

अखिल क्रान्तिकारीले मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा रमेश लामिछाने, शितल क्याम्पस चौरजहारीमा निराजन केसी र सिम्रुतु शिक्षा क्याम्पसमा निर्मला बुढाथोकीलाई स्ववियू सभापतिका रुपमा अघि सारेको छ । बाँकी क्याम्पसमा फागुन १८ गते भित्र टुंगो लगाउने निर्णय बैठकले गरेको जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । 

संगठनले जिल्ला इन्चार्ज सुशील बिष्टको सयोजकत्वमा स्ववियू घोषणा पत्र लेखन समिति गठन पनि गरेको छ । त्यस्तै संगठनले स्ववियू निर्वाचनलाई लक्षित गरेर केही कमान्ड इन्चार्ज हेरफेर समेत गरेको छ । जिल्ला अध्यक्ष नारायण केसीलाई मुसिकोट खलंगा बहुमुखी क्याम्पस, बिशाल बिष्टलाई रुकुमेली क्याम्पस र खुमराज ओलीलाई राडीज्युला शिक्षा क्याम्पसको इन्चार्ज तोकिएको छ । 
 
त्यस्तै निराजन केसीलाई शितल क्याम्पस, भिमदत्त बुढाथोकीलाई सिम्रुतु शिक्षा क्याम्पस, समकृति पुनलाई स्यार्पू शिक्षा क्याम्पस, जीवन खड्कालाई सानोभेरी शिक्षा क्याम्पस र निराजन केसीलाई जहारी क्याम्पस इन्चार्जको जिम्मेवारी दिइएको छ । 

संगठनले सहिद सप्ताहको अबसरमा ७७ वटा विद्यालय समिति, ८ क्याम्पस समिति  र पालिका समिति मार्फत सिर्जनात्मक कार्यक्रम गरि सहिद सप्ताह मनाउने पनि निर्णय भएको छ । सबै क्याम्पसमा स्ववियू निर्वाचन परिचालन समिति गठन गर्ने, सदस्यता वितरण गर्ने पनि बैठकले निर्णय गरेको अध्यक्ष केसीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update