Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम महोत्सवः स्टलमा स्थानीय व्यापारीलाई प्राथमिकता  
फाइल फाेटाे ।

रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवमा १ सय वटा व्यापारिक स्टल रहेने भएका छन् । फागुन २६ देखि चैत्र ७ गतेसम्म खलंगाको बराहटाकुरामा हुने महोत्सवमा विभिन्न व्यापारिक देखि सेवा मुलक गरी करिब १ सय वटा स्टल रहने आयोजक समितिका सदस्य अमित परियारले जानकारी दिनुभयो । 

महोत्सवमा स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार लगायतका सेवा मुलक स्टलहरु पनि रहने छन् । स्टलमा स्थानीय व्यापारीलाई प्राथमिकता दिइने परियारले बताउनुभयो । बाहिरका व्यापारीको तुलनामा जिल्लाका व्यापारीलाई स्टलका लागि प्राथमिकता दिने उहाँले बताउनुभयो । स्टल शुल्कमा समेत जिल्लाका व्यापारीहरुलाई सहुलियत दिइने आयोजकले बताएको छ ।  

स्टलको शुल्क कति लाग्ने भनेर अहिले नै फिक्स नभएको आयोजकको भनाई छ । तर बाहिरका व्यापारीको तुलनामा जिल्लाका व्यापारीलाई ३० प्रतिशतसम्म छुट दिइने परियारले बताउनुभयो । जिल्लाको व्यापार व्यवसायलाई प्रवद्र्धन गर्नका लागि जिल्लाका व्यापारीहरुलाई सहुलियत दिन लागिएको उहाँको भनाई छ । 

महोत्सव आयोजना हुने भनिएपछि जिल्लाका व्यापारीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । जसका कारण मुसिकोट नगरपालिकाले महोत्सव आयोजनाका लागि अनुमति दिन ढिला गरेको थियो । आफुहरु जिल्लाका व्यापारीहरुलाई घाटा होस भन्ने पक्षमा नरहेको आयोजकले जनाएको छ । 

त्यसै अनुसार जिल्लाका व्यापारीहरुलाई स्टल शुल्कमा छुट दिन लागिएको हो । जिल्लाका व्यापारीहरुले स्टलका लागि सम्पर्क गरिरहेको सदस्य परियारले बताउनुभयो । धेरै व्यापारीहरुले महोत्सवमा स्टल राख्ने विषयमा सोधिरहेको उहाँको भनाई छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update