‘म बनाउँछु मेरो गाउँ’ अभियानलाई व्यवसायी भिमराज केसी र उहाँकी श्रीमती कल्पना डाँगीले पाँच लाख ३० हजार सहयोग गर्नुभएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १०, घारीखोलाका स्थानीय ‘म बनाउँछु मेरो गाउँ’ अभियानमा जुटेका छन् । गाउँको समग्र विकासका लागि भन्दै स्थानीय युवाले अगुवाई गरी काम अघि बढेको छ ।
यो अभियानको एक अभियान्ता समेत रहनु भएका भिमराजले पाँच लाख र उहाँकी श्रीमती कल्पनाले ३० हजारको छुटछुट्टै चेक अभियानलाई हस्तान्तरण गर्नुभएको छ । अभियान्ता महानराज ओलीलाई उहाँहरुले चेक हस्तान्तरण गर्नुभएको हो । दम्पती सोही वडाको घारीखोला निमासी हुनुहुन्छ । घारीखोलाका स्थानीय युवा, समाजसेवी तथा बुद्धिजिविहरु गाउँ बनाउने भनेर आफै सहयोग गर्ने तथा जुटाउने अभियानमा व्यस्त छन् ।
गाउँको शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकास गर्ने योजना अभियानले राखेको छ । सुरुमा जनविकास मावि घारीखोलाको भौतिक पूर्वाधार निर्माण गर्ने र त्यसपछि शैक्षिक सुधारका कार्यक्रम गर्ने योजना रहेको भिमराजले बताउनुभयो । ‘अरुहरुले पनि सघाइरहनु भएको छ, हामीले पनि किन नसघाउने भनेर केही रकम थप गरेका हौं,’ उहाँले भन्नुभयो ।
हालसम्म संकलन भएको नगद र दिने प्रतिबद्धता गरे अनुसार यो अभियानका लागि झण्डै ४० लाख रकम जम्मा भएको छ । अर्का अभियान्ता गोविन्द केसीले प्रतिबद्धता गरिएको रकममध्यमा केही रकम अभियानको खातामा जम्मा भइसकेको अरु रकम जम्मा हुने क्रममा रहेको जानकारी दिनुभयो । विशेष गरी गाउँ भित्रका र अरु सरोकारवालालाई पनि सहयोगका लागि अभियानले आग्रह गरेको छ ।