रुकुम पश्चिमको चौरजहारीबाट अवैध रुपमा सल्यान तर्फ लैजादै गरेको काठ बरामद गरिएको छ । अवैध रुपमा ओसार्न लागिएको काठ प्रहरीले बरामद गरेको हो । ट्याक्टर र चालक सहित विभिन्न साइजको १५ गोलिया सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
चौरजहारी नगरपालिका वडा नम्बर १ स्थित कालिका सामुदायिक वनबाट अवैध रुपमा काठ ओसार पसार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा चौरजहारी–नेपालगञ्ज सडक हुँदै सल्यान तर्फ लैजादै गरिएको अवस्थामा ३८.५५ क्युफिट काठ बरामद गरिएको प्रहरीको भनाई छ ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रातो बिष्टले चलाईरहेको भे १ त १४६१ नम्बरको ट्याक्टरबाट सालको काठ बरामद गरि थप अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय चौरजहारीमा पठाएको छ । ट्याक्टर र चालक पनि नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।
चौरजहारीमा काठको तस्करी तथा अवैध रुपमा काठ कटानीका घटना बढिरहेका छन् । यसअघि पनि अवैध काठ सहित एक व्यक्ति पक्राउ परेको थिए ।