रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २५ जनाले सेवा लिएका छन् । वडावासीलाई वडामै स्वास्थ्य सेवा दिने उदे्श्यले वडाले आईतबार शिविर आयोजना गरेको थियो ।
जसमा २ सय ७ जना महिला र १ सय १८ जना पुरुषले सेवा लिएको वडा कार्यालयले जनाएको छ । जसमध्य १ सय ६८ महिला र ९७ पुरुष ६० वर्ष भन्दा कम उमेरका रहेका छज् भने ३९ महिला र २१ पुरुष ६० वर्ष माथीका रहेको वडाध्यक्ष धनबहादुर खड्का बसन्तले जानकारी दिनुभयो ।
८२ वर्ष उमेर सम्मका बिरामीले स्वास्थ्य सेवा लिएको उहाँको भनाई छ । सेवा लिने मध्ये २ सय ५२ जनाले आँखा परीक्षण गराएका छन । जस मध्य ३ जनालाई थप उपचारका दाङ रिफर गरिएको छ भने मोतीबिन्दु भएका १४ जनाको चैत्र २३ र २४ गते जिल्ला अस्पताल सल्लेमा हुने निःशुल्क आँखा अप्रेशन शिविरमा गएर सेवा लिन भनिएको छ ।
त्यस्तै ५६ जनालाई वडा कार्यालयबाट निःशुल्क चस्मा उपलब्ध गराइएको छ । ४७ जनाले दाँतको सेवा लिएका छन । ति मध्ये धेरैलाई जिल्ला अस्पताल सल्लेमा आएर थप उपचार गराउन सुझाब दिइएको छ । वडाध्यक्ष खड्काका अनुसार १३ जना गम्भिर खालका महिलाहरुको उपचार गरिएको छ ।
२ जनालाई तुरुन्तै सुर्खेत, नेपालगन्ज वा काठामान्डौ गएर थप उपचार गराउन स्त्रीरोग विशेषज्ञ डा.केहलविक्रक जिसीले रिफर गर्नु भएको छ । शिविरमा डाक्टर जिसी सहित डा.सुशील शाह, डा.मिलन कोइराला, सिनियर अहेव इश्वर रावल, सिनियर अनमी मंगला रोका, मुसिकोट नगर स्वास्थ शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक बेदाराम ओली, आँखा उपचार केन्द्रका प्रमुख धनबहादुर केसी, मालिका मावि चुनमा कार्यरत विद्यालय नर्स मलिका बोहराको टोली खटिएको थियो ।
त्यस्तै आधारभुत स्वास्थ्य सेवा केन्द्र मुसिकोट १० का इन्चार्ज मीना खड्का, अहेव हरि बिस्ट, वडाका जनप्रतिनिधि र कर्मचारी, टोल बिकास संस्थाका संयोजकहरु, महिला स्वास्थ्य स्वयंसेवीकाहरुहरु पनि खटिएका थिए । शिविरमा जिल्ला अस्पताल र आँखा उपचार केन्द्रले प्राविधिक सहयोग गरेका थिए ।