
मेलगैरी हत्याकाण्डको सोमबार २७ वर्ष पूरा भएको छ । २०५२ साल फागुन १५ गते रुकुम पश्चिमको साविक पिपल गाविसको मेलगैरीमा ६ जना खत्रीबन्धुको हत्या भएको थियो । प्रहरीले ६ जनाको एकै साथ हत्या गरेको थियो । तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १५ औं दिनमा मेलगैरी हत्याकाण्ड भएको थियो । जनयुद्ध घोषणापछिको पहिलो सामुहिक हत्याकाण्ड मेलगैरी हत्याकाण्ड हो ।

फागुन १४ गते गोरखाका दिलबहादुर रम्तेलको हत्या गरेको प्रहरीले १५ गते मेलगैरीमा पिपलका ६ जना खत्रीबन्धुको एकै चिहान बनाएको थियो । बाँफिकोट प्रहरी चौकीबाट गएकाे प्रहरीको टोलीले मेलगैरीको एक घरमा बसिरहेका सर्वसाधारणको हत्या गरेको हो ।
उक्त हत्याकाण्ड भएको सोमबार २७ वर्ष पूरा भएर २८ वर्षमा प्रवेश गरेको छ । मेलगैरीमा कलबहादुर खत्री, लालबहादुर खत्री, पशुपति खत्री, दलबहादुर खत्री, मनबहादुर खत्री र १५ वर्षीय खड्कबहादुर खत्रीको हत्या भएको थियो । यसैबिच घटना भएको २७ वर्ष पूरा भएको दिन सोमबार मेलगैरीमै स्मृति सभा भएको छ ।
सहिद परिवार समाज बाँफिकोटले मेलगैरीमै सहिदको सम्झना गर्ने कार्यक्रम गरेको हो । घटना स्थलमै सहिदको सम्झना, सहिद परिवारसँग अन्तरक्रिया, सहिदको फोटोमा अविर आवरण र माल्यार्पण गरी श्रदाञ्जली अर्पण गरिएको थियो । सहिद परिवार समाज बाँफिकोटका अध्यक्ष धनबहादुर खत्री सरलको अध्यक्षता कार्यक्रम भएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका नेताहरु टेकबहादुर बस्नेत, वसन्तकुमार शर्मा, गोपाल शर्मा, धर्मबहादुर केसी, कलबहादुर नाथ, गोबिन्द रोका, देबिलाल गौतम, सहिद परिवार, जनप्रतिनिधि, स्थानीय नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन लालबहादुर केसीले गर्नुभएको थियो ।