गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा रुकुम पश्चिम सर्वोत्कृष्ट भएको छ । ६ महिने कार्यसम्पादनमा रुकुम पश्चिम सर्वोत्कृष्ट भएको हो । कार्यसम्पादनमा सर्वोत्कृष्ट पश्चिम रुकुमले ४१ पूर्णाङ्कमा ४०.८८ अंक पाएको छ ।
६ महिने कार्यसम्पादन मुल्यांकनको अवधिमा जिल्लामा उप–सचिव परमानन्द घिमिरे प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । उहाँ रोल्पा जिल्ला सरुवा भएछि विगत १ महिना देखि उप–सचिव हरिप्रसाद पन्त जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ । कार्यसम्पादन मुल्यांकनमा रुकुम पूर्व दोस्रो भएको छ ।
गृहको कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लामा पश्चिम रुकुम सहित रुकुम पूर्व, प्यूठान, रूपन्देही, पर्वत, पूर्वी नवलपरासी, डडेल्धुरा, दाङ र काठमाडौं छन् । उत्कृष्ट १० जिल्लाले ३९.४४ भन्दा माथि अंक पाएका छन् । ४० प्रतिशतभन्दा कम अंक ल्याउने जिल्ला कार्यसम्पादनमा अनुत्तीर्ण अर्थात न्यून सम्पादन सूचीमा समेटिन्छन् ।
त्यस्तै कार्यसम्पादनमा जाजरकोट, चितवन र बझाङ उनत्तीर्ण भएका छन् । कमजोर कार्यसम्पादन सूचीका १० जिल्लामा जाजरकोट, चितवन, बझाङपछि क्रमशः सिरहा, दोलखा, पाँचथर, ताप्लेजुङ, पर्सा, सोलुखुम्बु र सर्लाही छन् ।
प्रशासनको कार्यसम्पादन मूल्यांकनमा ९० प्रतिशत वा त्यसमाथि अंक ल्याउने ‘अति उत्तम’ मा ३१ जिल्ला परेका छन् । ७५ प्रतिशत देखि ८९ प्रतिशत अंक ल्याएका २२ जिल्लालाई उत्तम कार्यसम्पादनको सूचीमा राखिएको छ ।
६० देखि ७४ प्रतिशतसम्म ल्याउने मध्यम सूचीमा १३ जिल्ला छन् । ४० देखि ५९ प्रतिशत अंक ल्याउनेमा ८ जिल्ला छन् । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले कर्यसम्पादन मूल्यांकन वृत्ति विकास र जिम्मेवारी दिने मामिलामा महत्त्वपूर्ण सूचक रहेको बताउनुभयो ।
गृह मन्त्रालयले प्रजिअहरूसँग हरेक साउनमा मातहत १ वर्षका कामबारे कार्यसम्पादन करार सम्झौता गर्छ । जिल्ला प्रशासन कार्यालय र प्रजिअको कार्यसम्पादनलाई ६ वटा समूहमा वर्गीकरण गरिएको छ ।
शान्तिसुरक्षा तथा अपराध अनुसन्धान तथा नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण, लागूऔषध नियन्त्रण र मन्त्रालयको मूल्यांकनका लगायतका आधारमा जिल्ला प्रशासनको कार्यसम्पादन मूल्यांकन हुने व्यवस्था छ ।