Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी १४ मा घुम्ती शिविर मार्फत ३ सय १२ जनाले सेवा लिए  

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १४ मा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर मार्फत वडाका ३ सय १२ जनाले सेवा लिएका छन् । नगरपालिकाको आयोजनामा मगंलबार वडा कार्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर मार्फत वडाका ३ सय १२ जनाले सेवा लिएका हुन् । 

वडामै सेवा उपलब्ध गराउने उदेश्यले शिविर सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । एकीकृत घुम्ती शिविर मार्फत स्वास्थ्य सेवा, पञ्जीकरण, कृषि र पशु सेवा अन्तरर्गत उपचार तथा परामर्श सम्बन्धी निःशुल्क सेवा प्रदान गरिएको चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार १ सय २५ जना महिला र ६७ जना पुरुष गरी १ सय ९२ जनाले निःशुल्क स्वास्थ्य  सेवा लिएका छन् । त्यस्तै ३१ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचय पत्र, कृषि र पशु सेवा अन्तरर्गत ८९ घरलाई निःशुल्क औषधिका साथै प्राविधिकबाट परामर्श समेत दिएको छ । 

नगरपालिकाको कार्यालय देखि १४ नम्बर वडा टाढा भएकाले वडावासीको सहजताका लागि वडामै पुगेर निःशुल्क घुम्ती शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ । अन्य वडामा पनि शिविर संचालन हुने नगरको भनाई छ । आज वडा नम्बर १३ मा शिविर संचालन भइरहेको छ । 

शिविरमा नगरपालिकाको स्वास्थ्य शाखा, कृषि तथा पशु शाखा, महिला तथा बालबालिका उपशाखा, पञ्जीकरण शाखा र वडाको आधारभूत स्वास्थ्य केन्द्रको सेवा प्रवाह भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update