जापानको जिन्दगी व्यस्तै व्यस्तको जिन्दगी । दिनमा जाग्राम हुने र राति सुत्नु पर्ने प्रकृतिको जो नियम छ त्यो सँग कुनै मतलब छैन यहाँ, मतलब छ त केवल जागिरले निर्देश गरेको नियम संग । को कतिबेला सुत्छ र उठ्छ कुनै टुंगो हुँदैन । रात दिन उज्यालै उज्यालो, रफ्तारै रफ्तार...। जापानको यही अचम्मको संसारमा विगत ३ बर्ष देखी आफुलाई जबर्जस्त समाहित गर्दै जिन्दगीले दिएको हरप्रकारका हण्डरठक्करहरू संग मुकाविला गर्दै बाँकी जीवनको रथ धकेलिरहेका छन् तत्कालीन माओबादी जनयुद्दका एक कुशल ब्रिगेड कमाण्डर देवेन्द्र पुन मगर उर्फ कमरेड “निरन्तर” । आज उनैको जीवनका तितामिठा सम्झनाहरू, अनुभव र विचारहरूलाई शब्दमा उन्ने प्रयास गरेको छु ।
तत्कालीन माओवादी पार्टी र त्यसको नेतृत्वमा उठेको १० वर्षे जनयुद्धको उदगम स्थल मानिने रुकुमको मग्मामा २०३४ सालमा जन्मेका देवेन्द्र अत्यन्त गरिब किसान परिवारमा हुर्के । गरिबिकै कारण धेरै जसो विद्यालयमा उपस्थित हुन नसके पनि उनी तेजिलो दिमाग र लगनशीलताका कारण परीक्षामा भने सँधै प्रथम हुन्थे । पढ्ने धोको हुँदाहुँदै पनि एसएलसी भन्दा माथी चढ्न सकेनन उनी ।
२०४८ साल देखी विद्यार्थी संगठन, साँस्कृतिक अभियान हुँदै देवेन्द्र २०५२ सालको पौष महिनामा योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) सदस्य बने, त्यहीवेला पार्टीको छुट्टै नाम राख्नुपर्ने नियमानुसार उनी देवेन्द्र बाट क. ‘निरन्तर’ बने । विद्यार्थी संगठन, वाइसीयल लगायतका बैठक र भेलाहरुमा चिनियाँ जनयुद्ध र माओत्सेतुङ बारे प्रशिक्षणहरू सुन्ने गर्थे । र नेपालमा पनि त्यस्तै न्यायको लागि युद्ध हुन आवश्यक छ भन्ने सोँच कतै न कतै उनको मनमा आउँथ्यो । साथै गाउँमा हुनेखाने, मुखिया र जमिनदारहरूले गरिबहरूमाथि गरेको शोषण, दमन र अतिवादको विरुद्धमा उठ्नै पर्छ । तिनका साम्राज्यलाई ध्वस्त पार्नै पर्छ र विद्यमान रुपमा समाजमा जरा गाडेको यो जातीय छुवाछुत र भेदभाव जस्ता विसंगती र वेतिथिलाई हटाएर नयाँ व्यवस्थाको स्थापना गर्नै पर्छ । त्यसको लागि माओ विचारधारा अपरिहार्य छ भन्ने महान दृढ इच्छा र चाहानाले युद्धमा होमिएको कुरा उनी सुनाउँछन् ।
दश बर्षको महान जनयुद्दको समयान्तरमा साना–तिना झम्काभेट र फाइरिङहरू बाहेक प्रत्यक्ष २८–३० वटा फौँजी कार्वाही र लडाइँहरूमा भाग लिए । यस बिचमा कयौँ साथीहरू आँखै अगाडी ढलेर गए, वेपत्ता भए, घाईते भए । देश र जनताको लागि कि मुक्ति कि मृत्यु भन्ने कसम खाएका जनमुक्ति सेनाहरू अनगन्ती रातहरू धर्ती बिछ्याएर र आकाश ओढेर बिताएको बताउँछन उनी ।
माओवादीको विभिन्न जनवर्गीय संगठनहरू सक्रिय रुपमा सशक्त हुँदै गएका थिए । २०५२ साल फागुन १ गते दीर्घकालीन जनयुद्दको घोषणा पनि भइसक्यो । त्यसकै भोलीपल्ट २ गते बिहान ‘निरन्तर’को गाउँ भन्दामाथिको जङ्गलमा केही लडाकु दस्ताहरू लुकेर बसेको र उनीहरूलाई खाजा पुर्याइदिन जाने कुरा आयो । ‘निरन्तर’ गाउँका वाइसीयल साथीहरू लिएर खाजा बोकेर जंगलतिर उकालो लागे । त्यहाँ कमला रोका, गणेशमान पुन लगायतका १०÷१२ जनाको दस्ता आएका रहेछन । तिनका साथमा भरुवा बन्दुक, खुकुरी र घंगारुको लौरो थियो । उनीहरू पार्टीको योजनानुसार हिजो फागुन १ गतेको साँझ रुकुमकै आठबीसकोट प्रहरी चौकी आक्रमण गरी नेपालमा जनयुद्ध शुरु भएको संखघोष् गरेर फर्केका योद्धाहरू रहेछन । तसर्थ ‘निरन्तर’ले २०५२ फागुन २ गते बिहान ति योद्धाहरुसंग पहिलो भेट गरे । ‘निरन्तर’ र उनका साथीहरु पनि त्यही दिनबाट लडाकु दस्तामा सामेल हुने र पार्टी र क्रान्तिको लागी फरार हुने कबुल गरे ।
‘निरन्तर’को क्रान्तिकारी यात्रा निरन्तर अघि बढ्दै गयो । लडाकु दस्ताको सदस्यबाट सुरु भएको उनको सैन्य यात्रा स्क्वायट सेक्सन कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर हुँदै जसरी जनमुक्ति सेनाको विकास हुँदै गयो त्यसरी नै ‘निरन्तर’को सैन्य पोजिसन पनि अपग्रेड हुँदै गयो अन्तत उनी ब्रिगेडियर बने, अर्थात ब्रिगेड कमाण्डर । तेश्रो डिभिजन अन्तर्गत “प्रताप स्मृति ब्रिगेड” कमाण्डर, “बासु स्मृति ब्रिगेड” कमाण्डर, सातौं डिभिजनको “प्रहार स्मृति व्रिगेड” कमाण्डर लगायतका हैसियतमा रहेर नेतृत्व गरे । यही क्रममा सेना समायोजनले अन्तिम रुप लियो र अवकास लिएर जनमुक्ति सेनाको प्रिय ब्यारेक सँधैको लागि छाडे ।
अन्ततः कमरेड ‘निरन्तर’ले नचाहाँदा नचाहँदै पनि हजार समस्या र बाध्यताहरूको भारीले थेग्नै नसक्ने गरी पेल्दै ल्याएपछि विदेश जाने निधो गरे ।
उनले दश बर्षको महान जनयुद्दको समयान्तरमा साना–तिना झम्काभेट र फाइरिङहरू बाहेक प्रत्यक्ष २८–३० वटा फौँजी कार्वाही र लडाइँहरूमा भाग लिए । यस बिचमा कयौँ साथीहरू आँखै अगाडी ढलेर गए, वेपत्ता भए, घाईते भए । देश र जनताको लागि कि मुक्ति कि मृत्यु भन्ने कसम खाएका जनमुक्ति सेनाहरू अनगन्ती रातहरू धर्ती बिछ्याएर र आकाश ओढेर बिताएको बताउँछन उनी । त्यो महान जनयुद्दको दौरानमा रोल्पाको घर्तिगाउँ, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दी बेनी, डोल्पा दुनै, दाङ घोराही, जुम्लाको खलंगा, लमजुङको भिरपुस्ताङ् टावर लगायतका सबै सबै लडाइँहरू बिर्सनै सक्दैनन् ।
तर ति मध्य ‘निरन्तर’लाई जुम्लाको खलंगा आक्रमण र लमजुङको भिरपुस्ताङ् टावर आक्रमणका मोर्चाहरू बढी सम्झनामा आउँछन । जुम्लामा शाहीसेनाले फालेको बमले उनलाई हुत्याएर पर्खालमा पछारेको थियो । शरीर भरी गोलीका छर्रा लागेर उनी बेहोस बने । केही समयपछि सहयोद्धा कमरेडहरूले उद्धार गरे, पानी खुवाए, तब अलि होसमा आए । उनले म पक्कै मर्छु होला भन्ने सम्झे र अन्तिम पटक भए पनि क्रान्तिको त्यो मैदानमा अन्धाधुन्ध भिषण लड़ाई भित्रै पनि रगतले भिजेको शरीर संगै एक्लै आफ्नै शुरमा कराउँदै नारा लगाए–महान जनयुद्ध जिÞन्दावाद ! सर्वहारा वर्गहरुको मुक्तिको यात्रा जिन्दावाद ! जनमुक्ति सेना नेपाल जिन्दावाद ! नेकपा माओवादी जिन्दावाद !
राइफल, एस.एल.आर, एम–सिक्स्टिन, एल.एम.जी, एट्टीवान लगायतका कयौँ बिधाका सानाठुला हतियारहरू पड्काउन र सफा गर्न मात्रै जानेका एक बिद्रोही सेनाका कमाण्डर उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेर टेक्नोलोजी र रिमोटबाट चल्ने दुनियाँमा भिज्न आफैमा बडो चुनौतीपूर्ण थियो ।
हजारौँ जनमुक्ति सेनाहरू, लाखौँ जनताको समर्थन र माया, विभिन्न जनवर्गीय भातृ संगठनहरू यि सबै सबैको सामूहिक संघर्षबाट तत्कालीन शाही सत्ता आच्छुआच्छु हुँदै गरेको अवस्थामा नेतृत्वले शान्तिको बाटो रोजÞे पछि क.‘निरन्तर’हरूको सशस्त्र क्रान्ति निरन्तर रहेन । जनयुद्धको जहाज विस्तारै आवतरण गरियो अर्थात राजनीतिले कोल्टे फेर्यो । र त्यो संगै ‘निरन्तर’को सशस्त्र र संघर्षशील जिन्दगीले पनि कोल्टे फेर्यो । उनले शान्ति सम्झौता र सेना समायोजन पछि स्वैच्छिक अवकास रोजेर ब्यारेक छाडे । राज्यले दिएको ८ लाख रुपैयाँ बोकेर फर्केका ‘निरन्तर’को क्रान्तिकारी जीवन र संघर्ष त रोकियो, तर निजी जिन्दगीको संघर्ष भने रोकिएन । उनलाई वाह्य निजी समस्याहरूले निल्दै लग्यो । अनायसै जिन्दगी फकिर झैँ लाग्न थाल्यो, केही न केही हराए जस्तो गुमाए जस्तो । उनी केही वर्ष पार्टी र नेताहरूको सम्पर्कमा रहीरहे पनि पार्टी भित्रको चरम गुटबन्दी, अराजकता, मपाइँत्व, पक्षपात प्रवृती र नेता देखी कार्यकर्तासम्ममा आएको विचलन र नसोँचिएको व्यक्तित्व परिवर्तनले राजनीतिप्रतिको मोह् घट्दै गयो । भने यता पारिवारिक समस्याले पनि झन झन गाँज्दै गयो उनलाई । खासमा भ्रमण बाहेक पैसा कमाउनका लागि विदेश जाने कुरो उनले सपनामा पनि चिताएका थिएनन तर भइदियो त्यस्तै । अन्य समस्याहरू त त्यसै पनि थिए नै तर सबैभन्दा त टिभी रोगले ग्रसित बुबाको दैनिक उपचार खर्च समेत जुटाउँन नसक्दा आफु बाँचेको र मरेको एउटै जस्तो लाग्थ्यो । आफुले आफैलाई धिक्कारेर बस्थे । ऋण पनि बस्तारै उकालिँदै गयो । बाबा संगै बसेर २÷४ सयको समेत औषधी उपचार गर्न नसकेर मरेतुल्य हुनु भन्दा, आफुलाई धिक्कारेर लाचार भई बस्नु भन्दा कतै टाढा गएर पसिना बेचेर सकेको उपचार गर्छु भन्ने एउटा उद्देश्य र सपनाले ‘निरन्तर’लाई बेचैनी बनाइदियो ।
अन्ततः कमरेड ‘निरन्तर’ले नचाहाँदा नचाहँदै पनि हजार समस्या र बाध्यताहरूको भारीले थेग्नै नसक्ने गरी पेल्दै ल्याएपछि विदेश जाने निधो गरे । आमाले पनि छाडेर गएको र डुब्नै लागेको घाम जस्तै बनेका बुबाको अठाह् माया लाग्दा लाग्दै पनि मन कठोर पारेर झोला बोकेर विमानस्थल तिर लाग्दै गर्दा उनका परेलीहरू सल्बलाई रहेका थिए, मन गह्रौँ भएको थियो, खुट्टाहरु अघि बढीरहेका थिएनन् ।
बरु जन्मेदेखि जीवनमा सबैभन्दा महान र सन्तोष लाग्ने गरि गरेको काम भनेको त्यही महान जनयुद्धमा आफ्नो सक्रिय सहभागीता जनाउनुलाई नै मानेको छु । जुन अवसर अवका पुस्ताले रहर गरेर पनि पाउँने छैनन् न त अघिल्ला पुस्ताले नै पाए ।
संसार बदल्ने सपना बोकेर सर्वहारा वर्गहरूको राज्य स्थापना गरेर सुन्दर नेपाल निर्माण गर्ने महान लक्ष्यका साथ दीर्घकालीन जनयुद्धको महासमरमा लामबद्ध भएका एक अथक यात्री, एक ब्रिगेड कमाण्डर जसले हज्जारौँ लालसेनाहरूको नेतृत्व गरे, त्यही एक असाधारण पात्र, आज फेरी उही गरिबीकै कारण त्यही पैसाकै कारण अरु विदेशीरहेका लाखौँ युवाहरूलाई नै पछ्याउँदै परदेश लाग्दै थिए । म गहिरिएर सोँच्छु, कि वास्तवमा यो साधारण दृश्य थिएन । उनको यो पलायनले नेपाली राजनीति र जनयुद्धका नाइकेहरूलाई कुरिकुरि गर्दै थियो । जब उनी एयरपोर्टमा पुगे, झोला बोकेका र उदास उदास देखिएका नौ जवानहरूको लस्कर थियो । ति उदासीन युवाहरूको लस्करभित्र उभिइरहँदा उनी जनमुक्ति सेनाहरूको लस्करलाई सम्झे । तर ति निःशस्त्र थिए । बारुद र बमका झोलाले हैन, निजी जीवन, दुःख र पीडाले खचाखच सपनाका झोलाले थिचोरीएका थिए । यो भिडमा ‘निरन्तर’ अत्यन्तै भावुक बने । उनको अन्तर्मनबाट एक गहिरो मनोभाव पैदा भयो–“जीवनको यात्रा पनि कति बुझ्नै नसकिने, माकुराको जाल भन्दा दोब्बर किरीङ्मिरीङ् पाराको ! के सोँचेको थिएँ आज कहाँ जाँदै छु । साँच्चै, मलाई यो जिन्दगीले कहाँ पुर्यायो !”
झण्डै दुई दिनको हवाई यात्रा पछि ‘निरन्तर’ विश्व अर्थतन्त्र र समृद्धिको प्रतिस्पर्धामा उच्च दख्खल राख्ने एक विकसित मुलुक जापान आइपुगे । राइफल, एस.एल.आर, एम–सिक्स्टिन, एल.एम.जी, एट्टीवान लगायतका कयौँ बिधाका सानाठुला हतियारहरू पड्काउन र सफा गर्न मात्रै जानेका एक बिद्रोही सेनाका कमाण्डर उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेर टेक्नोलोजी र रिमोटबाट चल्ने दुनियाँमा भिज्न आफैमा बडो चुनौतीपूर्ण थियो । त्यसैमा झन अन्जान मानव संस्कार, भाषा, नीति–नियमहरू संग जुध्नुपर्दा निरन्तरको लागि जापान बसाइँ फलामको च्युरा भन्दा कम लागेन । वर्षदिनसम्म राम्ररी कमाई गर्न नसक्दा पैसा कमाएर बुवालाई उपचार गर्ने उनको ठुलो सपना जापानको समुद्रबाट उठेर आउँने सुनामीले भत्ताभुङ्ग पारेको झैँ आभास् हुन्थ्यो, थुप्रै कल्पनाका डोबहरू विरानो यो समुद्रको छालहरूमा छताछुल्ल भएको झैँ लाग्थ्यो । उनी लुकेर एकान्तमा कतिपटक रोए जस्को गन्ती छैन ।
आफ्नो तर्फबाट त्यो भर्वराउँदो भोर जीवन कालमा रगत, पसिना र आँशु सबै लगानी गरियो त्यसमा कुनै पछुतो छैन । आज जति उपलब्धीहरु छन त्यसको मुख्य देन जनयुद्ध र त्यसको लिडरसिपकै हो । यसकारण जनयुद्धमा सहभागीता हुनु जति गौरव अरु केहीमा छैन र सायद त्यस्तो गौरव गर्ने समय र अवसर फेरी यो चोलामा आउँदैन होला ।
तर समय सँधै उस्तै त कहाँ रहन्छ र ! ‘निरन्तर’ले हार नमानेर निरन्तर मिहेनत गर्दै गए, दिनहरू काट्दै गए । भाषा नजाने पनि जसोतसो हातकै इसारा गर्दै भएपनि काम गर्दै आए । त्यसै पनि जापान आउँदै गर्दा ‘निरन्तर’ले ठुला ठुला महल ठड्याउँने, करोड़पति हुने सपनाहरू बुनेका थिएनन । पारिवारिक सुख दुःख टार्ने र विशेष त बुवाको उपचारमा कुनै कमी हुन नदिने नै पहिलो उद्देश्य थियो उनको । जसअनुरुप बुवालाई राम्रै सँग उपचार गरे, टिभी मात्रै नभएर बुवालाई क्यान्सर पनि भएको खबर उनी जापान आएपछि मात्रै थाहा पाए । फोनमा कुरा गर्दा कहिले काही होस् उड्ने गरेको बुवा आफैले सुनाउँथे उनलाई । यो शन्देशले ‘निरन्तर’को मन साह्रै धर्किन्थ्यो, बुवालाई बलियो भएर सान्त्वना दिन्थे तर फोन राखेर उनी एकान्तमा आँशु बगाउँथे । तै पनि सकेको सबै उपचार गरे, अस्पताल देखी बाबाको इच्छानुसार देउ–पित्र, धामी–झाँक्री कुनै कसुर बाँकी राखेनन् । तर यसो गर्दागर्दै पनि २०७४ सालको दशैंकै दिन बाबाले सदाको लागी यो संसार छोडेर जानुभयो । यसको पीडा उनी शब्दमा ब्यक्त गर्न सक्दैनन । जापान आउँदै गर्दा पनि मनमनै बाबासंग अब अन्तिम भेट यत्ति नै हुन सक्छ भन्ने सोँचेका थिए । तै पनि उनको मनको कुनामा कतै न कतै म नेपाल फर्कंदा सम्म बाबा जीवित रहनुहोस् र तपाईको ८४ पुजा गर्न सकुँ भन्ने आशाको त्यान्द्रो भने अल्झेको थियो । तर उनको यो सपना अपुरो रह्यो, आशाको त्यान्द्रो चुँडिएर गयो । उनी बुबा मरेको दिन धेरै रोए, आँशु बगाए । तर परदेशको जिन्दगी, त्यति मज्जाले आँशु बगाउँने फुर्सद पनि त कहाँ मिल्छ र उनलाई ! एक कुल्ली न हुन, उनलाई पर्व लागोस् या पीडा परोस् , जापानीज लाई त्यसको कुनै मतलब छैन । यहाँ न भावनामा बगेर हुन्छ न रिस राग पोखेर नै हुन्छ । जे हुन्छ केवल काम गरेर मात्रै हुन्छ । जिÞन्दगीका यस्तै चोटहरूलाई एक दिन एकान्तमा बसी आँशुले बगाएर कम गर्ने ‘निरन्तर’को ठुलो धोको छ । साथै उनले बाबाको उपचारको मामलामा कुनै कसुर बाँकी नराखेर भौतिक खटन पटनमा लाग्नुहुने जेठा दाइ, भाउजु र आफ्नी श्रीमती इन्द्र रोका मगर लगायतका सबै परिवारलाई बिशेष सम्झेको पनि सुनाउँछन । म ‘निरन्तर’लाई एक साहसी र पोख्त कमाण्डरको रुपमा मात्रै हैन एक महान र कर्तव्यनिष्ठ छोरा पनि हुन् भनेर यही आलेखबाट भन्न चाहान्छु । संसारमा निरन्तर जस्ता छोराहरु हुन्छन् तर थोरै हुन्छन् ।
उनी राजनीतिमा भने सम्भव त अब नफर्किने सोँच राखेको बताउँछन । आफु खुलेर नलागे पनि समर्थकको रुपमा सँधै रहिरहने र आफ्नो ठाउँबाट खरबरदारी पनि गरीरहने कुरा गर्छन ।
यसै सन्दर्भमा मैले निरन्तर सँग प्रश्न गरेँ ।
‘पार्टी एकता भएर “नेपाल कम्युनिस्ट पार्टी (नेकपा)” भएको छ । माओवाद त सकिसक्यो भन्ने छ । र यो एकतालाई कसरी हेर्नु भएको छ ? फर्केर फेरी राजनीतिमा दोहोरीने मन छ ? जवाफमा उनि भन्छन – “माओवाद सकियो भन्नेमा मेरो असहमती छ । यो अलि ठूलै बैचारिक विषय पनि हो । कसैले सक्यो भनेर सकिने पनि होइन । जो नेपाली क्रान्तिको इतिहासमा एक कडीको रुपमा स्थापित भइसकेको छ । कसरी सकिन्छ ? जहाँसम्म एकताको कुरा छ, नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माणको जरुरी धेरै पहिला देखिकै हो । वास्तवमा कम्युनिष्ट हजार थरिका हुन सक्दैनन । झन एउटै देशमा चिरै–चिरामा विभक्त भएर एकले अर्कोलाई जाने जतिका अरोप लगाएर, खुइल्याएर आफु मात्र खाँटी कम्युनिष्ट कहलाउँने रोगको अन्त्य गर्न जरुरी थियो र छ । एक बर्ष पनि टिक्न नसक्ने नेपालको सरकार र त्यसबाट हुने देशको संक्रमणलाई तोडेर स्थायी सरकार निर्माण गर्नैको लागी पनि दुईतिहाई बहुमत नाघेको पार्टीको नेतृत्वमा सरकार निर्माण र संचालन हुनुपर्ने अति अपरिहार्यता रहेको परिपेक्ष्यमा यी दुई पार्टी एमाले र माओवादी बिच पार्टी एकता भएर नेकपा भएकोमा मैले राम्रै मानेको छु यो बेठिक छैन । बरु नाम राख्दा अलि लामो छलफल र तलैसम्म वहस जरुरी थियो कि थिएन ? यो प्रश्न बाँकी छ ।”
उनी राजनीतिमा भने सम्भव त अब नफर्किने सोँच राखेको बताउँछन । आफु खुलेर नलागे पनि समर्थकको रुपमा सँधै रहिरहने र आफ्नो ठाउँबाट खरबरदारी पनि गरीरहने कुरा गर्छन ।
जनयुद्ध लडेकोमा कहिले काही पछुतो लाग्छ कि लाग्दैन ? भन्ने प्रश्नमा उनी भन्छन –“जनयुद्ध कुनै आतंकवादी गतिविधि थिएन । ब्यक्तिगत स्वार्थको लागि पनि थिएन समग्र जाती, क्षेत्र, भाषा, लिंग, संस्कार आदिमा थोपरिएको अन्यायको जालो जरै देखि फालेर नयाँ र मौलिक राज्य ब्यवस्था स्थापना गर्ने एक महान अभिभारा थियो, एक अश्त्र थियो । काम गर्ने क्रममा चोट लागे जस्तै या नचाहेर पनि भइपरि आउने कमिजोरीहरूबाट हुन पुगेका घटनाहरू बाहेक समग्रमा जनयुद्ध गलत थिएन । बरू इतिहासले मागेको एक अपरिहार्य समय थियो । तर आफ्नो तर्फबाट त्यो भर्वराउँदो भोर जीवन कालमा रगत, पसिना र आँशु सबै लगानी गरियो त्यसमा कुनै पछुतो छैन । बरु जन्मेदेखि जीवनमा सबैभन्दा महान र सन्तोष लाग्ने गरि गरेको काम भनेको त्यही महान जनयुद्धमा आफ्नो सक्रिय सहभागीता जनाउनुलाई नै मानेको छु । जुन अवसर अवका पुस्ताले रहर गरेर पनि पाउँने छैनन् न त अघिल्ला पुस्ताले नै पाए । यसमा छाती फुलाएर गौरव महसुस गर्छु, पछुतो गर्ने कुनै कारण छैन । किन कि जनयुद्धले नै सयौं वर्ष दबिएका भेरी–कर्णाली लगायत पुर्व पश्चिमका कुना कुनाका मान्छेलाई जगायो, नेता र नेतृत्व गर्ने ठाउँमा पुर्यायो । दलित, महिला, मधेशी, जनजाती लगाएत सबै क्षेत्रका समुदायलाई अन्यायको विरोध र विद्रोह गर्ने निकै ठूलो चेतना जगायो यो सबैको मुख्य योगदान जनयुद्धकै हो । नेपालमा २४० वर्षे निरंकुश राजतन्त्र हटेर गणतन्त्र स्थापना हुनुको मुख्य आधार जनयुद्ध नै हो । केही मान्छेहरु सजिलै जसरी कल्पना र बहस गर्छन त्यति सजिलै आजको यो परिवर्तन भएको होइन, यि राजनीतिक उपलब्धीहरू आएका होइनन् । आज जति उपलब्धीहरु छन त्यसको मुख्य देन जनयुद्ध र त्यसको लिडरसिपकै हो । यसकारण जनयुद्धमा सहभागीता हुनु जति गौरव अरु केहीमा छैन र सायद त्यस्तो गौरव गर्ने समय र अवसर फेरी यो चोलामा आउँदैन होला ।
यति भनिरहँदा जनयुद्धका उपलब्धी संस्थागत गर्ने क्रममा भएको कमजोरी, जनयुद्धका शहिद, वेपत्ता परिवार र घाइते योद्धाहरुको उचित सम्मान, उपचार आदिमा भएको हदैसम्मको लापर्बाही पार्टी पद्धति, अनुशासनमा आएको गिरावट जस्ता जति पनि त्रुटीहरू भइराखेका छन वा भए यो भने जनयुद्धमा र शान्ति प्रक्रियामा गरिएका मेहनत र सम्झौताहरु प्रतिको ठूलो अपमान र मजाक भएको ठानेको छु । यो असाध्यै बिडम्वनापूर्ण र व्यक्तै गर्न नसकिने नकरात्मक पाटो हो । तर अहिलेका यी नकरात्मक पाटोहरूले जनयुद्धमा सहभागी हुन पाएका विर योद्धाहरूको गौरव गर्ने अधिकारलाई भने रोक्दैन ।”
‘निरन्तर’सँगको यो लामो भलाकुसारी गर्दा गर्दै समय बितेको पत्तै भएन । यसै बिचमा उहाँले सुनाउँनु भयो–“साँच्चै जनयुद्ध र सैन्य जीवन हुँदा आक्कलझुक्कलमा कसैले देवेन्द्र भनेर बोलाउँदा अप्ठेरो लाग्थ्यो । अहिले फेरि ‘निरन्तर’ भनेर बोलाउँदा नयाँ जस्तो, अनौठो जस्तो लागिरहेछ । यो सब समय रहेछ” (हल्का मुस्कान थियो उनको) ।
उहाँलाई तरकारी किन्ने हतार थियो । मलाई पनि मौखिक अन्तरंगका कुराहरूलाई शब्दमा मुर्त रुप दिन हतार थियो । फेरि भेट्ने वाचा सहित हामी छुटियौँ !
(यो आलेख ५ बर्ष अघि पनि प्रकाशित भएको आलेख हो । लेखक र पात्रको दुबैको चाहानामा पुनः प्रकाशित गरिएको छ ।)