Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे–८ मा ग्राभिटी गुड्स रोपवे हुँदै 

रुकुम पूर्वको भूमे गाउँपालिका–८ कुचिबाङमा ग्राभिटी गुड्स रोपवेको लागि भौतिक संरचनाको काम थालिएको छ । ग्राभिटी गुड्स रोपवेको संरचना निर्माणका लागि भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले  बिहीबार शिलान्यास गर्नुभएको  हो । युके एड्सको आर्थिक सहयोगमा प्राक्टिकल एक्शन र डिकोसद्वारा सञ्चालित समुन्नति परियोजनाको प्राविधिक सहयोग तथा भूमे गाउँपालिकाको समन्वयमा कुचिबाङ देखि भूमे ४ को काँडा बगर मध्यपहाडी राजमार्ग सम्म निर्माण हुन लागेको हो । 


जिजिआए निर्माण व्यवसायले तीन महिना भित्र काम सम्पन्न गर्ने जिम्मा लिएको छ । उक्त रोपवेको निर्माण पश्चात कुचिबाङमा उत्पादित कृषि उपजलाई  मध्यपहाडी राजमार्ग सम्म  ढुवानी गर्न सहज हुने भूमे गाउँपालिका कृषि प्रचार अधिकृत स्वतन्त्रराज चौधरीले जानकारी दिनुभयो । प्राक्किकल एक्शनको डिकोसद्वारा सञ्चालित समुन्नति परियोजनाको कुल ४१ लाख बजेटमा १ हजार एक ३७ मिटर ग्राभिटी गुड्स रोपवे निर्माण हुनेभएको हो ।


शिलान्यास कार्यक्रम बोल्दै  गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिकाले कृषकहरुलाई जति सक्दो सहयोग गर्ने  बताउनुभयो । कृषकहरुले पनि त्यसैअनुसार उत्पादनमा मेहनत गर्नुपर्ने उहाँको भनाई छ । यस वर्ष पनि नमुना गाउँको लागि बजेट छुट्याईएको र आगामी वर्ष पनि बजेट बिनियोजन गरिने बताउनुभयो ।
भूमे ८ का वडा अध्यक्ष दिनेश रोकाको अध्यक्षता रहेको कार्यक्रम गाउँपालिका अध्यक्ष श्रेष्ठ, कृषि प्रचार अधिकृत चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update