Kakhara सबैको खबर सम्पूर्ण खबर
आफ्नै भवनबाट स्वास्थ्य इकाइको सेवा प्रवाह
आधारभुत स्वास्थ्य इकाइको नयाँ भवन ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३, को आधारभुत स्वास्थ्य इकाइले आफ्नै भवनबाट सेवा प्रवाह थालेको छ । यस अघि भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आइरहेको इकाइले आइतबारबाट आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्न लागेको हो । संघीय सरकारको ३२ लाख अनुदान बजेटबाट बनेको भवन उद्घाटन भएपछि इकाइले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको हो । गाउँपालिका उपाध्यक्ष मनकला पुनले भवनको उद्घाटन गर्नुभयो । 

तीन किस्तामा भवन बनाउनुपर्ने भएपनि यहाँको यो भवन भने एकै पटक निर्माण सम्पन्न भएको छ । बाँकी दुई किस्ताको रकम आउनु अघि नै भवन निर्माण भइ सेवा प्रवाह समेत सुरु गरिएको वडाध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । थप बजेट आउदै गर्ला भनेर अरु व्यवस्थापन गरी भवन निर्माण गरिएको उहाँले बताउनुभयो । सजिलै सेवा प्रवाह गर्नका लागि पनि भवन निर्माणलाई पूर्णता दिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

क्रमागत योजना भएपनि सेवा प्रवाहको असहजतालाई मध्यनजर गरी भवन निर्माण गरेको भनाई उहाँको छ । इकाइमा एक जना अहेब र एक जना अनमी कार्यरत छन् । स्वास्थ्य चौकी नभएका वडामा बाँफिकोट गाउँपालिकाले आधारभुत स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ । आफ्नै भवनबाट सेवा प्रवाह गर्ने पहिलो वडा यो भएको छ । स्वास्थ्य चौकी नभएका अरु वडामा सबै भाडाका घरबाट स्वास्थ्य सेवा इकाईले सेवा प्रवाह गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update