Kakhara सबैको खबर सम्पूर्ण खबर
परिवारबाट समाज सुधारको अभियान थालौं: मुख्य मन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले परिवारबाट समाज सुधारको अभियान थालनी हुनुपर्ने बताउनुभएको छ । रुकुम पश्चिमको चौरजहारीमा आज यातायात व्यवस्था सेवा कार्यालयको सेवा उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले अव परिवारबाट समाज सुधारको अभियान थालनी हुनुपर्ने बताउनुभएको हो । 

सरकारले मात्र समिक्षा गरेर हुँदैन अव व्यक्ति, परिवार र सिंगो सामाजले नै समिक्षा गर्न आवश्यक रहेको उहाँको भनाई छ । यसका लागि हरेक परिवारमा दैनिक चुले बैठक हुने पर्ने उहाँको भनाई छ । ‘चाहे त्यो परिवारमा होस, चाहे त्यो कार्यालयमा होस, हरेक दिन चुले बैठक गर्नुहोस, दिनभरीको समिक्षा गर्नुहोस र भोलीको योजना पनि बनाउनुहोस उहाँले भन्नुभयो ।’

परिवारले पनि बजेट बनाउन आवश्यक रहेकोमा उहाँको जोड छ । ‘आम्दानी कसरी बढाउने, उत्पादनलाई कसरी बृद्धि गर्ने, कति खर्च गर्ने भनेर पारिवारिक रुपमा पनि बजेटिङ गर्न आवश्यक छ, उहाँले भन्नुभयो ।’ खाना पाकुन्जेल देखि खाना खाइसक्दासम्म परिवारका विचमा छलफल र अन्तरक्रिया हुन आवश्यक रहेको उहाँले बताउनुभयो । 

व्यक्ति, परिवार हुँदै समाज नै परिवर्तनको खाँचो रहेको औल्याउदै मुख्यमन्त्री शर्माले परिवारकै छलफल र अन्तरक्रियाबाट विद्यमान सामाजिक विकृतिहरु हटाउन सकिने पनि बताउनुभयो ।   साथै उहाँले कामचोर संस्कृतिको अन्त्य हुनुपर्ने पनि बताउनुभएको छ । 

कामचोर संस्ृकतिले नै सभ्य समाज निर्माण र सिंगो राष्ट्र निर्माणमा समेत असर गरिरहेको भन्दै कामचोर प्रवित्तिको तत्काल अन्त्य हुनुपर्नेमा उहाँको जोड छ । त्यस्तै राज्य प्रक्रियामुखि हुँदा समस्या भइरहेको पनि उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update