रुकम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ५ डालिवाङमा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन गरिएको छ । आईतबार एक कार्यक्रमका विच भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्नुभएको हो । जिल्ला अस्पताल रुकुमकोटबाट सेवा लिइरहेका डालिवाङवासीलाई अब सहज हुने भएको छ ।
पहिला सामान्य देखि जटिल खालका समस्या हुदा पनि जिल्ला अस्पताल रुकुमकोट जानु पर्ने बाध्यता रहेको र अव भने गाउँमै स्वास्थ्य संस्था खुलेपछि सहज हुने विश्वास भूमे ५ डालिबाङकी थकुकुमारी परियाले व्यक्त गर्नुभयो । सिटामोल खानको लागि पनि आफु धेरै पटक जिल्ला अस्पताल पुगेको उहाँको भनाई छ ।
अब गाउँमै स्वास्थ्य सेवा पाइने भन्दै स्थानीय हर्षित भएको वडा अध्यक्ष टेकप्रसाद बुढाले बताउनुभयो । स्वास्थ्य इकाइको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले अब डालिवाङवासीले गाउँमै स्वास्थ्य सेवा पाउने बताउनुभयो । गाउँपालिका सम्पूर्ण गाउँपालिकावासीले गाउँमै सेवा पाउन भनेर लागिपरेको बताउँदै उहाँले त्यसै अन्तर्गत डालिबाङमा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन गरिएको उहाँको भनाई छ ।
यहाँ प्रसूती गृह पनि संचालनमा ल्याउने योजना रहेको उहाँले बताउनुभयो । सामुदायिक स्वास्थ्य इकाईबाट आईतबार देखि नै सेवा सुरु भइ सकेको छ । अहिले अहेव सन्तोष ओलीले बिरामीलाई सेवा दिनु रहनु भएको छ ।