रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सहिद परिवारलाई सम्मान गरिएको छ । गाउँपालिकामा रहेका ७६ सहिद परिवारलाई गाउँपालिकाले शहिद सप्ताहको अवसरमा सम्मान गरेको हो । १० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । वडा नम्बर २ को सिम्रुतुमा रहेको सहिद प्रतिष्ठानको सभाहलमा एक कार्यक्रमको आयोजना गरी दोसल्ला तथा प्रति परिवार एक–एक वटा सिरक प्रदान गरी सम्मान गरिएको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा, सहिद परिवार समाज नेपालका केन्द्रीय सदस्य देविलाल गौतम, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य गीता नेपाली, पार्टीका त्रिवेणी गाउँपालिका इन्चार्ज झक्कुप्रसाद घर्ती, अध्यक्ष गणेशबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।