रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका दुई वडाको पुर्नसंरचना गर्ने प्रस्ताव गरिएको छ । २, ३ र ५ नम्बर वडा पुर्नसंरचना गर्ने प्रस्ताव गरिएको हो । कर्णाली प्रदेशले सिमांकन वा पुर्नसंरचना गर्ने भए गरेर पठाउनु भन्ने चिठी पठाएपछि त्यसकै आधारमा यी वडालाई पुर्नसंरचनाको प्रस्ताव गरिएको हो ।
२ नम्बर वडामा अर्को वडा बनाउने प्रस्ताव छ भने ३ नम्बर वडामा ५ नम्बर वडाको एउटा टोल मिलाउने प्रस्ताव आएको छ । २ नम्बर वडा ठूलो भएको भन्दै साविक पिपल गाविस ३,४,५ र ६ नम्बर वडाको एउटा वडा र ७, ८ र ९ नम्बर वडाको अर्को वडा बनाउने प्रस्ताव छ । हाल यी सबै वडाको एउटै वडा छ । ३ नम्बर वडामा मिलाउने प्रस्ताव आएको साविक बाँफिकोट गाविसको ७ नम्बर वडाको स्यार्पू गाउँ हो ।
सम्बन्धित वडाबाट आएको निर्णय अनुसार कार्यपालिका हुँदै गाउँसभाबाट भएको निर्णय सिफारिस गर्ने निर्णय भएको छ । बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले वडाबाट आएको निर्णय अनुसार फागुन २९ गते शनिबारको गाउँ सभाले वडाको पुर्नसंरचना गर्ने सिफारिस गरेको जानकारी दिनुभयो । गाउँ सभाले अनुमोदन गरेको निर्णय कर्णाली प्रदेशमा सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।
वडा तथा स्थानीय तहको सिमांकन र पुर्नसंरचना गर्ने संघीय सरकार अन्तर्गतको आयोगले हो । उक्त आयोगलाई आवश्यक लागेको सन्दर्भमा गाउँपालिका/गाउँ सभाको सिफारिस कार्यान्वय हुन सक्ने अध्यक्ष केसीले बताउनुभयो । साविकका पिपल, बाँफिकोट, मग्मा, दुलीका केही वडा, झुला गाविस मिलाएर बनाइएको बाँफिकोट गाउँपालिकामा हाल १० वडा छन् ।