नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीयल) नेपाल रुकुम पश्चिमले विस्तृत शान्ति सम्झौता विपरित नगर्न माग गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै वाइसीयलले यस्तो माग गरेको हो ।
नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध अमुक प्रतिगामी शक्तिहरुले केही दिन यता अस्वभाविक तरिकाले गतिविधि गरेको प्रति संठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै वाइसीयलले सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जिएम मार्फत नेपाल सरकारलाई ५ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
अहिलेको प्रमुख दायित्व शान्ति, विकास, समृद्धि र सुशासन कायम गर्नु, गणतन्त्रलाई संस्थागत विकास गर्न र शान्ति प्रक्रियाका बाँकी रहेका कार्यहरु तार्किक निष्कर्षमा पुर्याउनु पर्ने भएपनि केही अवान्छित तत्वहरु सक्रिय भइरहेको सन्दर्भमा संगठनको गम्भिर ध्यानाकर्षण भएको वाइसिएल रुकुम पश्चिमले जनाएको छ ।
पछिल्लो समयमा भएका अस्वभाविक गतिविधिहरुको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणका लागि सरकार समक्ष जोडदार माग गरिएको योङ कम्युष्टि लिग वाइसीयलका जिल्ला इन्चार्ज जनक विश्वकर्मा र जिल्ला संयोजक गोविन्दप्रकास ओलीले सहायक प्रमुख जिल्ल्ला अधिकारी जिएमलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै देशमा शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादी बिच भएका १२ बुदे समझदारी, विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका विरुद्ध भइरहेका चलखेल र षड्यन्त्रप्रति संगठनको गंम्भिर ध्यानाकर्षण भएको संगठनले जनाएको छ । शान्ति प्रक्रियाका बाँकी कामहरूको निरुपण गर्न, द्वन्दकालिन घटनाबाट पिडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक निर्माण गरि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि आयोग गठन गर्नुपर्ने माग संगठनले गरेको छ ।